जसपा नेपालले निर्णय नलिएपछि सर्‍यो विश्वासकाे मत लिने कार्यक्रम

  • मिति : जेष्ठ १, २०८३
480 Shares

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गतेका लागि विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुखलाई पत्र पठाएका छन् । जनता समाजवादी पार्टी नेपालले निर्णय नदिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुखलाई पत्रलाई पठाएका हुन् ।

वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने कार्यक्रम थियो । तर जसपा नेपाल विश्वासको मत दिने या नदिने विषयमा अनिर्णीत भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम सारेका हुन् ।

मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने विषयमा जसपा नेपालमा फरक फरक मत रहेको छ । केही सांसदले विश्वासको मत दिने, केहीले नदिने भएपछि विवादका कारण मुख्यमन्त्रीले कार्यक्रम सार्न सभामुख रामअषिश यादवलाई पत्र पठाएको स्रोतले जनाएको छ ।

जसपा नेपालका एक नेताले भने– ‘हाम्रो पार्टीको बैठक जारी छ, अझै कुनै निर्णय लिन सकेको छैन, तर विश्वासको मत लिने कार्यक्रम सार्नु हाम्रो पार्टी मात्र कारण होइन कांग्रेसकै केही नेताले फ्लोर क्रस गर्ने तयारी गरेको सुइँको पाएपछि मुख्यमन्त्रीले त्यस्तो गर्नुभएको हो ।’

मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम अगाडि बढाएको भए जसपा नेपाल कुनै न कुनै निर्णय लिन बाध्य हुन्थ्यो तर कांग्रेस  भित्रै विवाद भएपछि यस्तो परिस्थिति उत्पन्न भएको हो ।

जसपा नेपालको बैठक अझै जारी रहेको छ । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिए पनि सो पार्टीका दुई जना मन्त्री महेश यादव र वसन्त कुशवाहा अझै सरकारमै छन् ।  यद्यपि, जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंहले विश्वासको मतको पक्षमा मतदान नगर्न आफ्ना सांसदहरूमाथि ह्विप जारी गरेका छन् ।