देउवा दम्पत्तीविरुद्ध रेड नोटिस प्रक्रियामा इन्टरपोलद्वारा थप कागजात माग

  • मिति : बैशाख २३, २०८३
1.1K Shares

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि इन्टरपोलले थप कागजात माग गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजातको विवरण एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) काठमाडौंसँग माग गरेको हो । ‘रेड नोटिस अहिले प्रक्रियामै छ । इन्टरपोलले थप आवश्यक कागजात माग गरेको छ’ एक उच्च प्रहरी अधिकारीले भने ।

गत २४ चैतमा देउवा दम्पत्तीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

देउवा दम्पत्तिविरुद्ध रेड नोटिसका लागि एनसीबी काठमाडौं (नेसनल सेन्ट्रल ब्युरो)ले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन ।

पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती भने विदेशमा छन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ ।

यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरू फर्केका थिए । अहिले भने १४ फागुनमा देश छाडेका उनीहरू अहिलेसम्म नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेको बताइन्छ ।

रेड नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्ने छन् । यसरी पक्राउ परेको अवस्थामा कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिने छ ।

पक्राउ पुर्जी जारी भएपछि एक वक्तव्य जारी गर्दै देउवाले आफू खुला किताब रहेको बताएका थिए । सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा रहेको र आफ्नो सम्पत्तिको विवरण सार्वजनिक पदमा रहँदा सरकारी निकायमा पेस गरेको उनले बताएका थिए ।

उपचारका लागि विदेश आएको उल्लेख गरेका देउवाले तर आफू कहाँ कुन देशमा छन् भन्नेबारे केही खुलाएका थिएनन् । शेरबहादुर देउवाका नातेदार प्रदीप शमशेर जबरा, भूषण राणा, जयवीर देउवा लगायतको कारोबारबारे समेत अनुसन्धान भइरहेको छ ।

यसअघि देउवा पत्नी आरजु राणा नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि जोडिएको आरोप लागेको थियो । नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालीन सञ्चार सचिव डा. बैकुण्ठ अर्यालमार्फत भएको विवादस्पद निर्णयपछिको कारोबारलाई पनि शंकास्पद रूपमा हेरिएको छ ।

शेरबहादुर देउवा परिवारले बुढानीलकण्ठमा एउटा कम्पाउन्डभित्र दुई वटा घर बनाएका थिए । जेनजी आन्दोलनका क्रममा उनीहरू त्यही घरमा थिए । त्यतिबेला देउवा दम्पतीमाथि आक्रमणसमेत भयो भने घरमा आगजनी भएको थियो ।

यसअघि गत २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा देउवा निवास बुढानीलकण्ठमा जलेका नोटहरू भेटिएका थिए । देउवा निवासमा भेटिएका नोटको भिडियोसमेत सार्वजनिक भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसको मुचुल्कासमेत उठाएर अनुसन्धान अघि बढाएको थियो ।