कांग्रेस सभापति थापालाई खुल्ला पत्र : बदलिएको कांग्रेस कहाँ छ ?

  • मिति : बैशाख १४, २०८३
1.1K Shares

जनकपुर । चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले नेपाली कांग्रेसका सभापति गगन थापाका निम्ति खुल्ला पत्र सार्वजनिक गरेका छन् । सोमबार जनकपुरधामस्थि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश अगाडि संयोजक यादवले सभापति थापाको नाममा खुल्ला पत्र सार्वजनिक गरेका हुन् । यादवले कांग्रेस बदलियो भन्दै नारा लगाएर हिँडेका सभापति थापाले सो कुरा पुष्टि गरेर देखाउन चुनौती दिएका छन् ।

खुल्ला पत्रमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव र वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीको मौनताप्रति प्रश्न उठाइएको छ । रौतहटस्थित डिभिजन वन कार्यालयमा भइरहेको अनियमितताप्रति अभियानका संयोजक यादवले केही दिन अघि वनमन्त्री चौधरीमार्फत मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

तर प्रदेश सरकारले कुनै चासो नदेखाएको भन्दै संयोजक यादवले कांग्रेस सभापति थापालाई खुल्ला पत्र लेख्न बाध्य भएको जानकारी दिए । खुला पत्रमा रौतहटका डीएफओ हेमन्त साहले महोत्तरीमा कार्यरत रहँदा सरकारी वनलाई निजी स्वार्थमा प्रयोग गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको र मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ ।

डिएफओ साह हाल रौतहटमा सरुवा भइ आएपछि पुनः वन क्षेत्रको दोहन र अनियमिततामा उत्रेको अभियानका संयोजक यादवले गरेका छन् । संयोजक यादवले पहिला बुझाएको ध्यानाकर्षण पत्रमा काठ डिएफओ साहले वनको आपूर्ति प्रक्रियामा अनियमितता, गोप्य रूपमा मिलहरूसँग मिलेमतो गरी कम दरमा काठ लिलाम गरी कमिसन लिएको, सामुदायिक वनको बजेट दुरुपयोग गरेको, अवैध रूपमा रुख कटान गराएको, प्रमाण नष्ट गर्न आगजनी गराएको आरोप लगाएका थिए । उनले यी सबै कुराको प्रमाण पनि आफूसंग रहेको दाबी गरेका थिए ।

अभियानका संयोजक यालवले वन मन्त्रालय स्वयं पनि शङ्काको घेरामा परेको उल्लेख गर्दै तत्काल स्थलगत अनुगमन, अडिट रिपोर्ट परीक्षण, बैंक स्टेटमेन्ट जाँच तथा संलग्न कर्मचारीहरूमाथि कारबाही गर्न माग राखेका छन् । उनले डीएफओ साहलाई तत्काल प्रदेशमा झिकाएर उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गरेका छन् । संयोजक यादवले चुरे दोहन भइरहँदा प्रदेश सरकार मुकदर्शक बनेर बस्नु र ध्यानाकर्षण गराउँदा पनि कुनै कदम नचाल्नुले घुस लिएरै काम मात्र गर्ने प्रवृत्ति सरकारको रहेको भनेर प्रष्ट भएको बताए ।

उनले घुस नै चाहिएको हो भने केही दिनपछि जनसमुदाय स्तरमा गएर पैसा संकलन गरी सरकारलाई दिने बताए । संयोजक यादवले मुख्यमन्त्री र वनमन्त्री नेपाली कांग्रेसकै भएकाले पहिला सभापतिमार्फत दबाब दिनका निम्ति खुल्ला पत्र सार्वजनिक गरेको बताए । उनले यसबाट पनि कुनै समाधान ननिस्किए अख्तियारमा जाने साथै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष पनि यी समस्याहरुको ध्यानाकर्षण गराउने जानकारी दिए ।संयोजक यादवले खुल्ला पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायल अगाडिको बोर्डमा टाँसेका छन् ।