काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको प्रतीक’ को रूपमा चित्रण गरेका छन् । नेकपा (एमाले)का पूर्वअध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै पोखरेलले उनको राजनीतिक संघर्ष र त्यागको स्मरण गरे ।
कार्यक्रममा नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने दिवङ्गत व्यक्तित्वहरूलाई सम्मानका साथ स्मरण गरे । उनले प्रतिष्ठानका पूर्वसचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा. गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदानले नै मनमोहन अधिकारीको विचारलाई संस्थागत गर्न मद्दत पुगेको बताए ।
मनमोहन अधिकारीको राजनीतिक इतिहासको चर्चा गर्दै पोखरेलले उनी नेपाल कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दा अघिदेखि नै आन्दोलनमा सक्रिय रहेको उल्लेख गरे । भारतमा रहँदा भारतीय स्वतन्त्रता संग्राममा सहभागी भई जेल जीवन बिताएका अधिकारीको दृढ मान्यता भएको बताउँदै उनले भारतबाट अंग्रेज शासन नहटेसम्म नेपालमा राणा शासनको अन्त्य सम्भव नहुने बताएको जिकिर गरे । नेपाल फर्केपछि पनि उनले कठोर बन्दी जीवन र यातना सहनुपरेको तर कहिल्यै सिद्धान्तसँग सम्झौता नगरेको पोखरेलले बताए ।
हेलिकप्टर दुर्घटनापछि गम्भीर शारीरिक समस्या झेलेका अधिकारीको आत्मबलको उदाहरण दिँदै पोखरेलले भने, ‘बैसाखीको सहारा लिनुपर्दा पनि उहाँले हार खानुभएन । उहाँ भन्नुहुन्थ्यो– मेरा दुईटा खुट्टा थिए, अब चारवटा भएका छन्, म अझै हिँड्न सक्छु ।’ अधिकारीको जीवनबाट वर्तमान राजनीतिले सिक्नुपर्ने मुख्य पाठ भनेकै प्रतिकूल समयमा पनि आफ्नो सिद्धान्त र निष्ठाको झण्डा झुक्न नदिनु रहेको पोखरेलको भनाइ थियो ।