सर्लाही, १३ कात्तिक । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ । स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन् ।
पीडित हृदय रायका अनुसार उनीहरूको परिवारमाथि यसअघि पनि पटकपटक आक्रमण भइरहे पनि स्थानीय प्रशासनले कुनै कदम नचालेको गुनासो छ । उनीहरुको कुटपिटपछि प्रहरी चौकी भवानीपुर पुगेकामा त्यहाँ प्रहरीले उजुरी नै लिन नमानेको पीडितले बताए ।
भवानीपुर चौकीले सहयोग नगरेपछि उनीहरू इलाका प्रहरी कार्यालय बरहथवा पुगेका थिए । तर त्यहाँ पनि उजुरी नलिएको बताइएको छ । कुटपिटबाट घाइते भएकाहरूको अहिले गोल्डेन हस्पिटल बरहथवामा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार जग्गाको विषयमा विवादमा कुटपिट गरेको बुझिएको छ । प्रहरीले दुवै पक्षका गरी ९ जना घाइते भएको जनाएको छ । घटनामा संग्लग्न रहेका ५५ वर्षीय राम दरेशलाई पक्राउ गरेको जनाएको छ ।
पीडित परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् । घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।