काठमाडौँ : बझाङमा अरिँगालको टोकाइबाट एकै घरका दुईजना बालबालिकाको मृत्यु भएको छ। थलारा गाउँपालिका–२ डोरगाउँकी डम्मरा खातीका ३ वर्षीय छोरा सुरवीर खाती र ५ वर्षीया छोरी सिया खातिको अरिँगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीका अनुसार यो घटना गएको शनिबार (गोरुतिहार)कै दिनको हो।
‘शनिबार दिउँसो घर नजिकै बारीमा डम्मरा र उनकी सासु घाँस काट्न जाँदा बालबालिका पनि सँगै गएका रहेछन्,’ डीएसपी भण्डारीले नेपालखबरसँग भने, ‘बिच्किएको अरिँगालको टोकाइबाट दुई बालबालिकाको तत्कालै मृत्यु भएको खबर आएको छ। सोही घटनामा अरिँगालको टोकाइबाट डम्मरा, उनकी सासु र डम्मराकी सात वर्षीया छोरी सुमी पनि घाइते भएका छन्।’ उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको भण्डारीले बताए। यसअघि बझाङकै गुन्देल र तलकोटमा पनि अरिँगालको टोकाइबाट दुईजनाको मृत्यु भएको थियो।