स्थानीय तह निर्वाचन र राष्ट्रिय भेला लगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजेबाट सुरू हुने केन्द्रीय समिति बैठकको कार्यसूची तय गरिएको जनाइएको छ ।
बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने भएको छ । केन्द्रीय समिति बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय भएको पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
२०७९ को स्थानीय तह निर्वाचन पश्चात् रास्वपा स्थापना भएको हो । सोही वर्ष भएको केन्द्रीय निर्वाचन बाहेक रास्वपाले प्रदेश संरचनामा पनि चुनाव लडेन । यस हिसाबले प्रतिनिधिसभामा बाहेक अन्य दुई तहको संरचनामा रास्वपा प्रतिनिधिविहीन छ । निर्वाचन आयोगले मंसिरको दोस्रो हप्तातिर उपनिर्वाचन गर्दा ठिक हुने प्रस्ताव सरकारसमक्ष गरेको छ ।
त्यस्तै उनका अनुसार पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल हुनेछ। केन्द्रीय समिति बैठकले पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई थप कारबाहीको निर्णय पनि गर्ने सम्भावना रहेको एक सदस्यले बताए। यसअघि बसेको केन्द्रीय समितिले उनलाई महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गर्दै साधारण सदस्य मात्रै कायम राखेको थियो।
यसबाहेक समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ । रास्वपाले यसबीचमा राष्ट्रिय भेला आयोजना गर्दैछ। साउन १० गते बसेको केन्द्रीय समिति बैठकले नै यसबारे निर्णय गरेकाले आज यसबारे कार्ययोजना बन्ने रास्वपाले बताएको छ।
साउन १० गते बसेकै केन्द्रीय समिति बैठकले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरेको थियो। आज बस्ने बैठकले कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रमबारे छलफल गर्ने बुर्लाकोटीले बताए । ल्अभिि
रास्वपाले संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन गर्दैछ। त्यसबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ। यसबीचमा रास्वपाले केन्द्र तथा सातै प्रदेशमा विधान संशोधनका लागि बन्द कार्यशाला गरेको थियो। त्यसको प्रतिवेदन र उपलब्धीबारे छलफल हुनेछ कार्यसूची छ ।