दाङमा रड प्रहार गरी श्रीमतीको हत्या

3.3K Shares

दाङ । दाङमा रड प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। राजपुर गाउँपालिका– १ रसरीनिवासी ३८ वर्षीय गणेश घर्तीले श्रीमती ३८ वर्षीया वसन्ती घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले बताए।

आइतबार राति खाना खाई सुतेकोमा सोमबार बिहान साढे ९ बजेसम्म पनि ढोका नखोलेपछि स्थानीयले इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलालाई खबर गरेका थिए। त्यसपछि प्रहरी आएर ढोका खोल्दा श्रीमतीको टाउकोमा फलामको रडले हानी हत्या गरेको अवस्थामा फेला परेको थियो।

कोठाभित्रै रहेको अवस्थामा प्रहरीले श्रीमान् गणेशलाई नियन्त्रणमा लिएको छ। घरायसी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। श्रीमानले विगतदेखि नै मादक पदार्थ सेवन गर्ने गरेको तथा मानसिक रूपमा पनि समस्या भएको हुन सक्ने प्रहरीले बताएको छ। उनीहरूका तीन छोरा छन्। जेठो छोरा काकाको घरमा गएको तथा माइलो र कान्छो माथिल्लो कोठामा सुतिरहेका थिए। उनीहरू तल्लो कोठामा सुतेको अवस्थामा घटना भएको प्रहरी नायब उपरीक्षक तिमल्सिनाले बताए।

शवको पोस्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ। हत्या गर्न प्रयोग भएको रड पनि प्रहरीले नियन्त्रणमा राखेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।