नियामकीय मापदण्ड उल्लङ्घन गर्ने ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही

  • मिति : अशोज ७, २०८३
514 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था तथा वित्तीय अनुशासन पालना नगरेको भन्दै ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा गरिएको अनुगमनका क्रममा विभिन्न किसिमका नियामकीय कमजोरी तथा उल्लङ्घन भेटिएपछि राष्ट्र बैंकले सम्बन्धित संस्थामाथि शीघ्र सुधारात्मक कारबाहीदेखि नगद जरिवानासम्मको कदम चालेको हो।

राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्त वित्तीय संस्थालाई न्यूनतम पुँजीकोष अनुपात तोकिएको सीमाभन्दा कम रहेको पाइएपछि गत वैशाख ८ गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ। २०८२ असार मसान्तमा संस्थाको न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशतमा सीमित रहेको थियो।

त्यस्तै, धौलागिरी लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात पनि २०८२ असार मसान्तमा ६.३८ प्रतिशत मात्र रहेको पाइएपछि राष्ट्र बैंकले सोही प्रकृतिको सुधारात्मक कारबाही गरेको जनाएको छ।

मातृभूमि लघुवित्तमाथि भने २०८३ वैशाख २९ गते शीघ्र सुधारात्मक कारबाही गरिएको हो। संस्थाको न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशतमा झरेको पाइएपछि नियामकले कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, एनआईसी लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात २०८२ असार मसान्तमा ६.३९ प्रतिशत रहेको पाइएपछि २०८३ असार १२ गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ।

पुँजीकोषसम्बन्धी कमजोरीबाहेक अनिवार्य नगद मौज्दात कायम नगरेका संस्थामाथि पनि राष्ट्र बैंकले जरिवाना गरेको छ।

वीन नेपाल लघुवित्तले २०८२ चैतमा कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम नगरेपछि २०८३ असार २३ गते पहिलो पटक ५८ रुपैयाँ ३८ पैसा जरिवाना गरिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

त्यस्तै, सञ्जीवनी लघुवित्तले पटक–पटक अनिवार्य नगद मौज्दातसम्बन्धी व्यवस्था पालना नगरेको पाइएको छ। संस्थाले २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असारमा आवश्यक नगद मौज्दात कायम नगरेपछि राष्ट्र बैंकले विभिन्न समयमा जरिवाना गरेको हो।

सञ्जीवनीलाई क्रमशः ७१३ रुपैयाँ, १ हजार ६७ रुपैयाँ, १ हजार ४१२ रुपैयाँ र १ हजार ४१० रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले नियामकीय मापदण्डको पालना, पर्याप्त पुँजीकोष कायम तथा अनिवार्य नगद मौज्दात व्यवस्थालाई वित्तीय संस्थाको स्थायित्वका लागि महत्वपूर्ण मान्दै आएको छ।