पहिरोले नदी थुनिएर नेपालतर्फ फेरि ताल बन्यो, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

  • मिति : भदौ ११, २०८३
293 Shares

काठमाडौं : नेपालस्थित छोगेन खोला र पुरेपु साङपो नदीको सङ्गमस्थल नजिकै एउटा ठूलो पहिरोजन्य ताल (बाँध) बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। बिहीबार बिहानसम्ममा उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालबाट पानी बाहिर बहन (ओभरफ्लो हुन) थालिसकेको छ।

आगामी तीन दिनभित्र तालमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ, जसका कारण फुट्ने (विस्फोट हुने) उच्च जोखिम रहेको चिनियाँ केन्द्रीय टेलिभिजनले बिहीबार रिपोर्ट गरेको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।

मन्त्रालयले उक्त तालको स्थितिमाथि सूक्ष्म निगरानी राखिरहेको छ। साथै, ताल फुटेको खण्डमा उत्पन्न हुन सक्ने सम्भावित बाढीको पूर्वअनुमान र विश्लेषण गर्दै आपत्कालीन उद्धार कार्यका लागि आवश्यक सहयोग र पूर्वतयारी गरिरहेको छ।

चीन-नेपाल सीमाको नेपाली भूभागबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरो (मडस्लाइड) दक्षिण-पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) स्थित केरुङ (ग्याइरोङ) नाकामा ठोक्किएपछि चिनियाँ अधिकारीहरूले चौतर्फी रूपमा उद्धार टोलीहरू परिचालन गरेका छन्।

कठिन भूगोल, निरन्तरको वर्षा र दोस्रो चरणका सम्भावित विपद्का जोखिमहरूसँग जुध्दै आपत्कालीन टोली, जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार प्रदायक र राहत संस्थाहरूले आफ्ना जनशक्ति, विमान, उपकरण तथा राहत सामग्रीहरू दुर्घटनास्थलतर्फ खटाएका छन्।

बिहीबार बिहानसम्म प्राप्त विवरण अनुसार यस विपद्मा परी तीन जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने दुई जनाको जीवितै उद्धार गरिएको छ। साथै, २६० जना विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेका छन्।