काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेकाले जोखिम अझै कायम रहेको बताएको छ । बिहीबार भोटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाका अनुसार चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको हो ।
उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ । पछिल्लो अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुँदा सम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।