काठमाडौं , ०२ फागुन २०८१ । ‘समुदायमा अदालत : न्यायिक सेवा प्रवाहमा न्यायपालिका : हाम्रा बुझाइ र अपेक्षा’ विषयक एकदिने न्यायिक बाह्य अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं जिल्ला अदालतको आयोजनामा र टोखा नगरपालिकाको सहकार्यमा न्यायिक सेवा प्रवाहलाई नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको छ। टोखा नगरपालिकाका सभाहलमा भएको कार्यक्रममा प्रमुख न्यायाधीश कमल प्रसाद पोखरेल र न्यायाधीशहरू शिव प्रसाद खनाल, दिवाकर भट्ट, राम प्रसाद शर्मा, तारा महर्जनको उपस्थिती रहेको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले पहिले न्याय नपाए गोर्खा जाऔं भन्थे अहिले न्याय नपाए टोखा जाऔ भन्ने वातावरण बनाउनुपर्छ भन्दै न्याय सेवामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। भने, उपप्रमुख मुरारी तामाङले यस्तो कार्यक्रम आफ्नो नगरपालिकामा गर्न पाउँदा आफू मात्र नभई सिङ्गो नगरपालिका नै खुशी भएको बताउनुभयो। साथै आगामी दिनमा पनि न्यायालय नागरिकलाई न्याय दिन तत्पर रहने विश्वास छ” भनी न्याय सेवाको प्रभावकारिताबारे धारणा व्यक्त गर्नुभयो।
विशेष अतिथी टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सि.ले भन्नुभयो, “न्यायालय पनि घर आँगनमै आउन सक्छ भन्ने प्रमाणित गर्नुभएकोमा धन्यवाद। सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिका अघि बढिरहेको छ, यसै क्रममा विभिन्न मुद्दाहरू खेपिरहेका छौं, न्यायालयले सहजिकरण गर्छ भन्ने विश्वास छ । साथै अदालत र जनता बीचको सम्बन्ध अझ नजिक बनाउने महत्त्वपूर्ण कदमको रूपमा यस कार्यक्रमको प्रशंसा गर्नुभयो।
कार्यक्रममा स्थानीय नागरिक, कानूनी व्यवसायी, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूले न्याय सेवा प्रवाहको प्रभावकारिता र पारदर्शिता बारे गहन छलफल गरे।
न्यायाधीशहरूले नागरिकहरूका जिज्ञासाहरूको समाधान गर्दै न्यायिक सेवामा सुधारका उपायहरूको बारेमा चर्चा गर्नुभयो।कार्यक्रमले स्थानीय तह र अदालतबीचको सहकार्यलाई बलियो बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
