काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीमबहादुर रावलले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह भारतसँग लम्पसार परेको आरोप लगाएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वालेन्द्र शाह पनि पुरानाहरूजस्तै सत्ताको लागि भारतसँग लम्पसार परेको आरोप लगाएका हुन्।
नेता रावलले भारतको ‘पीएम गतिशक्ति’ कार्यक्रमलाई नेपालको विकास तथा पूर्वाधार योजनासँग जोड्ने विषय आपत्तिजनक भएको पनि बताए। नेपालको विकासको खाका नेपालकै आवश्यकता, संविधान र राष्ट्रिय हितअनुसार तय हुनुपर्ने उनको भनाई छ। भारतबाट प्रस्तावित साझेदारीको पुनःपरिकल्पना सम्बन्धी दस्तावेजमा नेपालको सार्वभौमसत्तामाथी ठाडो हस्तक्षेप भएको उनको दाबी छ।
उनले भने, ‘कुनैपनि स्वतन्त्र देशले अर्काको देशमा गएर नेपालको विकास कसरी हुन सक्छ भन्ने दस्ताबेजको घोषणा गर्दैन। प्रधामन्त्रीले अर्काको देशले तयार गरेको पिएम शक्ति भन्ने कार्यक्रममा सम्झौता गरेर आउनुभयो। भारतले आफ्नो भौतिक संरचना आफ्ना भौतिक पूर्वाधार कसरी बनाउनेदेखि आफ्नो राष्ट्रको कसरी विकास गर्ने भनेर पिएम गतिशक्ति कार्यक्रम बनाएको छ। साझेदारीको लागि पुनः परिकल्पना भनेको दस्ताबेजमा भारतको पिएम गतिशक्तिलाई नेपालले कार्यान्वयन गर्न सक्ने भनेर लेखेको छ। यो के हो?’
रावलले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरे। प्रधानमन्त्री शाहको भारत भ्रमणपछि भारतले प्रतिवेदनको औचित्य समाप्त भएको घोषणा गरेको उल्लेख गर्दै उनले नेपाल सरकारको पनि धारणा सार्वजनिक हुनुपर्ने बताए। उनले अब सरकारले ईपीजी प्रतिवेदन गोप्य राख्न नहुनेमा जोड दिए।
उनले भने, ‘दुई देशका सहमतिबाट छानिएका व्यक्तिले २ वर्षसम्म निकै नै ठूलो रकम खर्च गरेर तयार गरेको यो प्रतिवेदनमा के कुरा लेखिएको छ? नेपाली जनताले थाहा पाउनुपर्छ। नेपालको तर्फका प्रबुद्ध व्यक्ति समूहका संयोजक डा भेषबहादुर थापाले केही दिन अगाडि परराष्ट्रमन्त्रीज्यूलाई प्रतिवेदन बुझाइसक्नु भएको छ। ‘अब ढिलो भयो, यो म प्रतिवेदन मैले राखिरहनु उचित भएन।’
दुई देशको सहमतिका आधारमा गठन भएको प्रबुद्ध व्यक्ति समूहले दुई वर्षसम्म ठूलो रकम खर्च गरेर तयार पारेको प्रतिवेदन नेपाली जनताले थाहा पाउनुपर्ने उनको भनाई छ।
उनले नेपालतर्फका समूह संयोजक डा भेषबहादुर थापाले प्रतिवेदन परराष्ट्रमन्त्रीलाई हस्तान्तरण गरिसकेको स्पष्ट पार्दै सरकारले प्रतिवेदन सार्वजानिक गर्न हिच्किचाएको आरोप लगाए। प्रतिवेदन सार्वजनिक नगर्नुका पछाडि राजनीतिक स्वार्थ रहेको हुनसक्ने उनको आशंका छ।
रावलले थपे, ‘भारतका विदेश सचिवले सार्वजनिक रूपमा दुई देशको बीचको सहमतिलाई तोड्दै अब प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनको औचित्य छैन भन्ने कुरा उहाँले भन्नुभएपछि नेपालको परराष्ट्रमन्त्रीको हैसियतले त्यो ताल्चा खोलेर ‘हेर नेपाली जनता हो, यो प्रतिवेदन हामीले यस्तो तयार गरेका छौँ’ भन्ने कुरा भन्दिने कि नभन्दिने?’
सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको विषयलाई ओझेलमा पार्न ईपीजी प्रतिवेदनलाई प्रयोग गरिएको उनले आरोप लगाए।
उनले नेपाल–भारत सम्बन्धमा देखिएका असमान सन्धि तथा सम्झौताबारे सरकारको स्पष्ट धारणा सार्वजानिक गर्न पनि माग गरे। उनले ईपीजी प्रतिवेदन र नेपाल–भारत सम्बन्धका पछिल्ला घटनाक्रमबारे प्रमुख राजनीतिक दलहरूको मौनतामाथि पनि प्रश्न उठाए।
नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपाका नेताहरूले यस विषयमा सार्वजनिक धारणा राख्नुपर्ने उनको भनाई छ। विशेषगरी ईपीजी गठन भएको समयमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार रहेको स्मरण गराउँदै उनले भारतले प्रतिवेदनको औचित्य समाप्त भएको बताउँदा एमाले नेतृत्वको धारणा के हो भन्ने प्रश्न गरे।
त्यस्तै, नेकपाका नेताहरूले विगतमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत नेपाली भूभाग तथा असमान सन्धि सम्झौताका विषय उठाएको स्मरण गराउँदै अहिलेका घटनाक्रममा पनि स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाई छ। विगतमा सत्ता स्वार्थका लागि राष्ट्रिय महत्वका विषयमा सम्झौता गर्ने प्रवृत्तिकै निरन्तरता अहिले पनि देखिएको उनको आरोप छ।