काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी शान्ति कला तामाङ अब खेलकुदसँगै सांगीतिक क्षेत्रमा पनि सक्रिय हुन थालेकी छन्। उनको स्वरमा गायक सुरेश लामासँगको सहकार्यमा तयार भएको नयाँ रोमान्टिक नेपाली गीत ‘भन तिमी को हौ २’ सार्वजनिक भएको छ।
प्रेम, आकर्षण र मायाका भावनालाई समेटिएको गीतमा शान्ति कला तामाङ र सुरेश लामाको स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत गुरु भोटियाले तयार पारेका हुन्।
‘न बोलचाल भा-छ न चिनाजानी, भन्छौ मेरो आनीबानी, भन तिमी को हौ ? यति चाँडै मलाई मायाजालमा पार्यौ, भन तिमी को हौ ?’ जस्ता प्रेमिल शब्दले गीतलाई थप आकर्षक र रोमान्टिक बनाएका छन्।
राष्ट्रिय भलिबल खेलाडीका रूपमा परिचित शान्ति कला तामाङले यस गीतमार्फत आफ्नो गायन प्रतिभासमेत प्रस्तुत गरेकी छन्। खेलमैदानमा आफ्नो क्षमता देखाउँदै आएकी तामाङको सांगीतिक यात्रालाई पनि दर्शक तथा स्रोताले चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।
गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रोशन बलुवाले गरेका हुन् भने रेकर्डिङ नरेश बीसीले गरेका छन्। गीत जी–२६ स्टुडियोमा रेकर्ड गरिएको हो।
मदन खड्काको निर्देशनमा तयार भएको भिडियोमा शान्ति कला तामाङ र सन्तोष लोक्सुम लिम्बूको अभिनय रहेको छ। भिडियोको छायांकन वीरेन्द्र भट्टले गरेका हुन्। सीता मगरले मेकअप, मणिक पाख्रिनेले आर्ट तथा भ्यालेन्टिनो बुटिकले ड्रेस व्यवस्थापन गरेका छन्।
राजाराम सिम्खडाले सहायक निर्देशन गरेको भिडियोको सम्पादन तथा कलर अमृत चापागाईंले गरेका छन्। कोसेली इन्टरटेनमेन्टको सम्पादन स्टेसनमा तयार भएको भिडियोको पोस्ट प्रोडक्सन गुरु मिडिया हाउस प्रा.लि.ले गरेको हो।
खेलकुद र संगीत दुवै क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेकी शान्ति कला तामाङको ‘भन तिमी को हौ २’ ले नेपाली गीतसंगीतप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ।