देशभर हालै गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनरुत्थानका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ४० लाख रुपैयाँभन्दा बढीको राहत कोष सङ्कलन गरेको छ। प्राकृतिक विपत्तिका कारण घरबारविहीन भएका र संकटमा परेका परिवारहरूलाई तत्काल प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले महासंघले यो अभियान सञ्चालन गरेको हो।
राहत सङ्कलन तथा व्यवस्थापन अभियान संयोजक निरबहादुर विश्वकर्माको विशेष नेतृत्वमा अघि बढाइएको छ। संयोजक विश्वकर्माका अनुसार विपद्पछि सिर्जित कठिन परिस्थितिमा प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सहायता उपलब्ध गराउन महासंघका सदस्य, संस्थागत दाता, व्यवसायी तथा विभिन्न सामाजिक अभियन्ताहरूलाई समेटेर तीव्र रूपमा कोष सङ्कलन गरिएको हो।
सङ्कलित रकमबाट बाढीपीडितहरूका लागि अत्यावश्यक राहत सामग्री खरिद गरी प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमै पुगेर वितरण गर्ने योजना बनाइएको छ। प्रारम्भिक चरणमा प्रभावित परिवारहरूका लागि आवश्यक खाद्यान्न (चामल, दाल, तेल, नुन), अस्थायी बासस्थानका लागि त्रिपाल तथा म्याट, लत्ताकपडा, खानेपानी र आपत्कालीन प्राथमिक उपचारका औषधिहरू वितरण गरिने संयोजक विश्वकर्माले बताउनु भयो ।
संयोजक निरबहादुर विश्वकर्माले भन्नुभयो, ‘विपद्को यस घडीमा पीडितहरूलाई सहायता गर्नु हामी सबैको सामाजिक र मानवीय दायित्व हो। हामीले सङ्कलन गरेको यो रकम र सामग्री पारदर्शी रूपमा वास्तविक बाढीपीडितको हातसम्म पुग्ने गरी वितरणको समन्वय गरिरहेका छौँ।’
महासंघले संकटको समयमा स्वतःस्फूर्त रूपमा राहत कोषमा योगदान पुर्याउने सम्पूर्ण दाता, सामाजिक संघ(संस्था तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरेको छ। बाढी तथा पहिरोले क्षति पुर्याएका बस्तीहरूमा राहत वितरणका साथै दीर्घकालीन पुनःस्थापनाका लागि पनि आगामी दिनमा निरन्तर पहल र समन्वय जारी राखिने महासंघले जनाएको छ।