रसुवा बाढी : ५ हेलिकप्टरसहित २ हजार बढी सैनिक परिचालन, १७७ जनाको सकुशल उद्धार

  • मिति : भदौ ११, २०८३
293 Shares

काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकहरूको खोज तथा उद्धार कार्यमा नेपाली सेनाले तीव्रता दिएको छ । नेपाली सेनाका ५ वटा हेलिकप्टरसहित २ हजारभन्दा बढी जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत वितरण कार्य युद्धस्तरमा अघि बढाइएको हो । सेनाका अनुसार बिहीबारसम्म हवाई तथा जमिनी माध्यमबाट कुल १७७ जनाको सकुशल उद्धार भइसकेको छ ।

हालसम्म नेपाली सेनाले हवाई साधनमार्फत ११४ जनाको उद्धार गरेको छ, जसमा भदौ १० गते ९७ जना, बिहीबार बिहान मैलुङको टनेलबाट ३ जना र टिमुरेबाट १४ जना रहेका छन् ।

त्यसैगरी, अन्य ६३ जनाको जमिनी उद्धार गरिएको छ । जोखिमयुक्त क्षेत्रमा सेनाका ११ वटा टोलीले रातभर खटिएर जमिनी उद्धारको कार्य गरेका थिए । अहिले नुवाकोटदेखि चितवनसम्मका प्रभावित क्षेत्रहरूमा २ हजारभन्दा बढी सैनिक फौज खोज तथा राहत कार्यमा सक्रिय छन् ।

बाढी प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई पनि तीव्र बनाइएको छ । नेपाली सेनाका ११ वटा ट्रकमार्फत राहत सामग्री त्रिशूलीसम्म पुर्‍याइएको र त्यहाँबाट हेलिकप्टरमार्फत आवश्यकता अनुसार दुर्गम तथा प्रभावित स्थानहरूमा ढुवानी भइरहेको छ । जसअन्तर्गत हालसम्म ४ सटल राहत सामग्री टिमुरे पुगिसकेको छ । साथै, घाइतेहरूको प्रभावकारी उपचारका लागि त्रिशूलीमा थप मेडिकल टोली खटाएर उपचार सेवालाई निरन्तरता दिइएको छ ।