काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौं जिल्ला समितिद्वारा आयोजित सातौँ उपत्यकाव्यापी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता आइतबार (भदौ ८ गते) प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रमुख अतिथिका रूपमा गर्नुभयो। नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा, काठमाडौं जिल्ला अध्यक्ष अमृतकुमार खड्काले अध्यक्षता गर्नुभएको थियो भने टंक थापा कार्यक्रम संयोजक रहनुभएको थियो।
मन्त्री चौधरीले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै मौलिक भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि विद्यालयस्तरमै यस्ता प्रतियोगिता आवश्यक रहेको बताउनुभयो। उहाँले नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्ने कार्यमा सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिनुभयो।
प्रतियोगितामा काठमाडौं उपत्यकाका ५१ विद्यालय सहभागी भएका थिए। विद्यार्थीहरूले विभिन्न मौलिक लोकनृत्य प्रस्तुत गरेका थिए भने निर्णायक मण्डलले कोरियोग्राफी, भेषभूषा र सांस्कृतिक मौलिकतालाई आधार मानी मूल्याङ्कन गरेको थियो।
प्रतियोगितामा नेरिक एकेडेमी प्रथम भई नगद रु. २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। त्यस्तै, ज्ञानभूमि हाई स्कूल दोस्रो भई रु. २० हजारसहित ट्रफी, र न्यु मालश्री स्कूल तेस्रो भई रु. १५ हजारसहित ट्रफी प्राप्त गरे।
यसैगरी, चौथो स्थान मिलन धर्मस्थली स्कूल, पाँचौँ ब्रेन हर्ट स्कूल, छैटौँ आस्था विद्या मन्दिर, सातौँ ग्रीन हिल्स एकेडेमी, आठौँ पिपुल्स सेकन्डरी स्कूल, नवौँ माउन्ट ग्लोरी स्कूल, र दशौँ ग्रिन फील्ड नेशनल स्कूलले प्राप्त गरे।
व्यक्तिगत विधातर्फ ज्ञानभूमि सेकेन्डरी स्कूलका खीम मगर उत्कृष्ट कोरियोग्राफर घोषित भए भने नेरिक एकेडेमी उत्कृष्ट भेषभूषातर्फ सम्मानित भयो। सहभागी सबै विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।