काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको शव प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाउने भएको छ । जर्मन नागरिक एडि इल एचइडीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउन लागिएको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
मृतक महिलाको टाउकोमा चोट देखिएपछि ‘शंकास्पद’ मृत्यु भएको आशंकामा प्रहरीले तालिम प्राप्त कुकुरको सहयोग लिएर अनुसन्धान गरेको छ । अनुसन्धानमा प्रयोग गरिएको कुकुरले कुनैपनि संकेत नगरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
घटनास्थलमा पुगेको फरेन्सिक विज्ञले पनि टाउकोमा देखिएको चोट ‘लडेर हुनसक्ने’ राय दिएका छन् । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान गरिने एसएसपी खनालले जानकारी दिए । उनले भने–‘पोष्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाउँछौं ।’ राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टको दोस्रोत तलामा मृत भेटिएकी जर्मन नागरिक मिर्गौलाको बिरामी थिइन् ।