आईजीपी हटाउनमा रास्वपाको हात छैन : प्रवक्ता खरेल

  • मिति : कार्तिक १८, २०८३
429 Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संलग्नता नरहेको दाबी गरेको छ। पार्टीका प्रवक्ता जगदीश खरेलले सरकारलाई कुनै पनि व्यक्तिलाई नियुक्त गर्न वा पदबाट हटाउन निर्देशन नदिएको स्पष्ट पारेका छन्।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा रास्वपाको निर्देशनअनुसार आईजीपी कार्कीलाई हटाइएको बताएका थिए। उनको अभिव्यक्तिपछि पार्टीको भूमिकाबारे प्रश्न उठिरहेका बेला प्रवक्ता खरेलले सरकार सञ्चालनमा पार्टीले हस्तक्षेप नगर्ने प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्रीलाई सरकार सञ्चालनका लागि पार्टीले आवश्यक सहयोग गर्ने भए पनि कर्मचारी तथा सुरक्षा निकायका कुनै व्यक्तिलाई पदमा राख्ने वा हटाउने विषयमा निर्देशन दिने अभ्यास नरहेको उनले बताए।

यसैबीच, केही दिनअघि समाचारसँग सम्बन्धित विषयमा पत्रकारहरू पक्राउ परेको घटनाबारे पनि खरेलले सरकारको जवाफदेहिता आवश्यक रहेको बताएका छन्। उक्त प्रकरणमा पक्राउ गर्ने प्रहरी अधिकारी र पक्राउ गर्न निर्देशन दिने व्यक्तिमाथि कारबाही हुनुपर्ने पार्टीको धारणा रहेको उनको भनाइ छ।

तर सरकारले आईजीपी कार्कीमाथि पत्रकार पक्राउ प्रकरणमा कारबाही गरिएको नभई जिम्मेवारी परिवर्तन मात्रै भएको बताएको उनले उल्लेख गरे। यदि उक्त घटनाकै कारण कार्कीलाई हटाइएको हो भने सरकारले त्यसको आधार र निर्णयको उद्देश्य स्पष्ट पार्नुपर्ने खरेलको भनाइ छ।

सरकारले जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा व्याख्या नगरेको अवस्थामा त्यसलाई पार्टीको निर्देशनमा भएको कारबाही भन्न नमिल्ने उनले बताए। यस विषयमा सरकारका तर्फबाटै थप प्रस्ट पारिनुपर्ने रास्वपा प्रवक्ता खरेलको धारणा छ।