एनपीएललाई लक्षित गर्दै नेपाल टेलिकमले ल्यायो ५९९ रुपैयाँको अनलिमिटेड प्याकेज

  • मिति : कार्तिक ११, २०८३
412 Shares

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै नयाँ ‘एनपीएल अनलिमिटेड प्याकेज’ ल्याएको छ।

नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन्। प्याकेजअन्तर्गत ३३३ मिनेट अल-नेट भ्वाइस कलका साथै प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ।

नेपाल टेलिकमले एनपीएल–३ लाई लक्षित गरी ल्याएको यो प्याकेज आज कात्तिक १० गतेदेखि आगामी मंसिर ५ गतेसम्म खरिद गर्न सकिने जनाएको छ। प्याकेज खरिद गरेपछि यसको भ्यालिडिटी ३० दिनको हुनेछ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गर्ने प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ।

‘एनपीएल अनलिमिटेड प्याकेज’ मोबाइलबाट *1415*9# डायल गरेर खरिद गर्न सकिनेछ। त्यसैगरी नेपाल टेलिकमको मोबाइल एपमार्फत पनि उक्त प्याकेज लिन सकिने कम्पनीले जनाएको छ।

नेपाल टेलिकम नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको ‘अफिसियल टेलिकम पार्टनर’ समेत हो। नेपाली खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएको टेलिकमले एनपीएललाई लक्षित गरी विशेष प्याकेज सार्वजनिक गरेको हो।