सिराहा । सन्तानको दीर्घायु, सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दै विशेषगरी तराई–मधेसका महिलाले मनाउने जितिया पर्व आज विधिपूर्वक समापन भएको छ। असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको हो।
जितियालाई ‘जीवितपुत्रिका व्रत’ पनि भनिन्छ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै निराहार व्रत बस्ने गर्छन्। व्रत बसेमा सन्तानलाई दुःख, पीडा तथा विभिन्न समस्याबाट जोगाउन सकिने विश्वास रहँदै आएको छ।
जितिया पर्वको पहिलो दिन व्रतालु महिलाहरू नजिकैका पोखरी, तलाउ वा जलाशयमा स्नान गरी घिरौँलाको पातमा तोरीको तेल, सिन्दूर, तोरीको पिना (खैर), मेहन्दीको पात तथा फूललगायत सामग्री चढाएर ‘नहाय–खाय’ विधि पूरा गर्छन्।
व्रतको पूर्वसन्ध्यामा मध्यरातमा दही–च्युउरा, माछा तथा कोदो (मरुवा) खाने परम्परा रहेको छ। त्यसपछि व्रतालु महिलाहरू शनिबार बिहान करिब ४ बजेदेखि निराहार व्रत बस्ने गर्छन्। आज आइतबार बिहान नवमी तिथि सुरु भएपछि पूजाआजा तथा धार्मिक विधि पूरा गरी व्रत तोडेसँगै जितिया पर्व सम्पन्न हुने व्रतालुहरूले बताएका छन्।
गोलबजार नगरपालिका–१० की व्रतालु गीता देवी झाले जितियाको व्रतमा निर्धारित विधि र परम्परा पालना गर्दै उपवास बस्ने गरेको बताइन्। उनका अनुसार व्रतको समापन पनि धार्मिक विधिअनुसार नै गरिन्छ।
थारू समुदायमा विशेष महत्त्व राख्ने जितियामा व्रतालु महिलाहरूले सन्तानको सुख, दीर्घायु र परिवारको समृद्धिको कामना गर्दै जिमुतवाहन देवताको पूजा गर्ने तथा जितियासँग सम्बन्धित धार्मिक कथा सुन्ने चलन छ। पूजाका क्रममा फलफूललगायत सामग्रीले डाली भर्ने परम्परा पनि रहेको छ।
गोलबजार नगरपालिका–८ की व्रतालु रामकुमारी यादवका अनुसार जितियाको सुरुवात घिरौँलाको पातबाट पूजा गरी गरिन्छ भने समापनका क्रममा केराको पातमा दही–च्युउरा, फलफूललगायत प्रसाद चढाएर पूजा गर्ने चलन छ।
जितिया धार्मिक आस्था मात्र नभई तराई–मधेसका विभिन्न समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा समेत मनाइँदै आएको छ।