काठमाडौं । नेपाली क्रिकेटको प्रवर्द्धन तथा युवा पुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीलाई आफ्नो ‘टिम एक्सट्रीम’मा आबद्ध गरेको छ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका खेलाडीबीच औपचारिक सम्झौता भएको हो। सम्झौतासँगै सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’मा आबद्ध भएका छन्।
सम्झौताअनुसार यी खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो राखिनेछ। साथै, कम्पनीका विभिन्न ब्रान्ड प्रवर्द्धन, खेलकुद तथा प्रचारात्मक गतिविधिमा समेत खेलाडीहरूको सहभागिता रहनेछ।
नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवा पुस्तामाझ उनीहरूको प्रभावलाई ध्यानमा राखेर गरिएको यो सहकार्यले खेलाडी र ब्रान्डबीचको सम्बन्ध थप मजबुत बनाउने कम्पनीको विश्वास छ।
एनपीएलका ७ टोली समेटिएको विशेष क्यान सार्वजनिक
कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)का आफ्ना मुख्य प्रायोजनमा रहेका ७ टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान समेत सार्वजनिक गरेको छ।
सम्बन्धित टोलीको पहिचान र क्रिकेट समर्थकको उत्साहलाई केन्द्रमा राखेर डिजाइन गरिएको विशेष क्यानले एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विशेष संस्करणको क्यानमार्फत क्रिकेट समर्थकसँगको सम्बन्ध अझ नजिक बनाउँदै नेपाली क्रिकेटमा आफ्नो उपस्थितिलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोससँग आफूलाई जोड्दै आगामी दिनमा क्रिकेटसहित विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य गर्ने जनाएको छ।