एआईआरडीसीको उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री निर्वाचित

  • मिति : अशोज १४, २०८३
242 Shares

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री एसोसिएसन अफ इन्स्योरेर्स एन्ड रिइन्स्योरेर्स अफ डेभलपिङ कन्ट्रीज (एआईआरडीसी) को उपाध्यक्षमा निर्वाचित भएका छन्।

जिम्बाब्वेको हरारेस्थित रेनबो टावर्स होटलमा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न एआईआरडीसीको जनरल मेम्बरसिप मिटिङबाट क्षेत्री उपाध्यक्षमा निर्वाचित भएका हुन्। उनी एआईआरडीसीको एग्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्यसमेत रहनेछन्।

विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीबीच सहकार्य, ज्ञान तथा अनुभव आदान–प्रदान र बीमा क्षेत्रको विकास एवं विस्तारलाई प्रवर्द्धन गर्ने उद्देश्यले एआईआरडीसी स्थापना भएको हो।

क्षेत्रीको नेतृत्वले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिनिधित्व तथा सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

एआईआरडीसीको आगामी बोर्ड अफ ट्रस्टिज बैठक अप्रिल ६, २०२७ मा मनिला, फिलिपिन्समा आयोजना हुने तय भएको छ। त्यसैगरी, सन् २०२८ मा काठमाडौँमा आयोजना हुने २५औँ एआईआरडीसी कन्फरेन्सको लोकल अर्गनाइजिङ कमिटीका अध्यक्षको जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्नेछन्।

उक्त सम्मेलनलाई सफलतापूर्वक आयोजना गर्न क्षेत्रीको नेतृत्वमा नेपाल तथा एआईआरडीसीका सदस्य राष्ट्रबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने बताइएको छ।

एआईआरडीसीको उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्य प्रवर्द्धन गर्नुका साथै नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीलाई समेत एआईआरडीसीको सदस्यताका लागि प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

क्षेत्री एआईआरडीसीको उपाध्यक्षमा निर्वाचित भएकोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।