बागलुङमा बाढीपहिरोको ठूलो क्षति : १२ जनाको मृत्यु, एक बेपत्ता, ६१ घर–गोठ बगे

  • मिति : अशोज १४, २०८३
310 Shares

बागलुङ । यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण बागलुङको निसीखोला र तमानखोला बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बाढीपहिरोले जिल्लामा ६१ घर/गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति भएको छ ।

बागलुङका ५१ घर र १० गोठ बाढीले बगाएको छ । बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालय बगाएको छ । तीनवटा झोलुंगे पुल बगाएको र दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार, बाढीपहिरोबाट दुईवटा जलविद्युत् आयोजनामा आंशिक क्षति, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा क्षति पुगेको छ । २५६ वटा पशुचौपाय क्षति भएको छ भने २१५ वटा कुखुरा मरेका छन् ।

निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन् । पहिरोमा परी चारवटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ । निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ ।

तमानखोला–३, धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बडिगाड –९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ ।

ढोरपाटन –७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ । तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

यस्तै, गलकोट –१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ । काठेखोला – १, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको छ ।

बाढीपहिरोमा मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन् । तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको प्रहरी प्रमुख फणिन्द्र प्रसाईंले जानकारी दिए ।