जाजरकोट जिल्ला अस्पतालको शौचालयमा एक महिला मृत फेला

  • मिति : अशोज १४, २०८३
429 Shares

सुर्खेत । जाजरकोटको जिल्ला अस्पतालको शौचालयमा एक महिला मृत फेला परेकी छन् ।

उपचारका लागि जिल्ला अस्पताल पुगेकी भेरी नगरपालिका–१२ धाइरा निवासी ३० वर्षीया ईश्वरी राना मृत फेला परेकी जाजरकोट प्रहरिले जनाएको छ ।

उनी श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि भेरी नगरपालिका–३ थाप्लेस्थित जिल्ला अस्पताल जाजरकोट पुगेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बुद्धिसागर पुरीका अनुसार मंगबार दिउँसो करिब ३ः५० बजे अस्पतालको शौचालयको झ्यालमा सलको पासो लगाई झुण्डिएको अवस्थामा उनलाई श्रीमान् कुलबहादुर बस्नेत र स्वास्थ्यकर्मीले फेला पारेका थिए । तत्काल उद्धार गरी उपचारका लागि लगिए पनि चिकित्सकले करिब ४ बजे उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।