विद्यालय तहबाट राष्ट्रिय टोली निर्माणको लक्ष्य, असोज ५ देखि Under-16 राष्ट्रिय बास्केटबल प्रतियोगिता

  • मिति : अशोज ४, २०८३
323 Shares

काठमाडौं । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवर्द्धनलाई थप संस्थागत बनाउँदै विद्यालय तथा युवा तहका प्रतिभालाई राष्ट्रिय खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले राष्ट्रियस्तरको Under-16 अन्तरविद्यालय बास्केटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।

नेपाल बास्केटबल संघ, नेपाललय इन्टरनेशनल र PABSON को संयुक्त आयोजनामा प्रतियोगिता असोज ५ गतेदेखि असोज १३ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल, दशरथ रंगशाला, त्रिपुरेश्वरमा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा देशभरबाट ४० वटा टोली सहभागी हुनेछन्। विद्यालय तथा युवा तहमा बास्केटबलप्रतिको बढ्दो आकर्षण र सहभागितालाई व्यवस्थित अवसरमा रूपान्तरण गर्दै प्रतिभावान खेलाडीको पहिचान, विकास र प्रोत्साहन गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।

प्रतियोगितालाई केवल प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रमका रूपमा सीमित नराखी विद्यालय तहबाटै प्रतिभा पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने महत्वपूर्ण आधारका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ। खेलाडीमा अनुशासन, नेतृत्व क्षमता, टिम भावना, स्वस्थ प्रतिस्पर्धा तथा खेलकुद संस्कारको विकास गर्ने उद्देश्यसमेत आयोजकले लिएको छ।

विशेषगरी Under-16 तहका प्रतिभावान खेलाडीको पहिचान तथा छनोट प्रतियोगिताको प्रमुख पक्षका रूपमा अघि सारिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा सम्भावना देखाएका खेलाडीलाई थप प्रशिक्षण, मूल्याङ्कन र विकासको प्रक्रियामा समेटिने आयोजकले जनाएको छ।

यसरी पहिचान तथा विकास गरिएका प्रतिभाबाट सक्षम Under-16 राष्ट्रिय टोली तयार गरी आगामी दक्षिण एसियाली खेलकुद (South Asian Games) मा नेपालको प्रतिनिधित्व गराउने दीर्घकालीन लक्ष्यसमेत राखिएको छ।

विद्यालयलाई खेलाडी उत्पादनको महत्वपूर्ण आधारका रूपमा विकास गर्दै शिक्षा र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउने तथा विद्यालयस्तरमै गुणस्तरीय खेल वातावरण निर्माण गर्ने आयोजकको योजना छ। यसबाट विद्यालय, प्रशिक्षक, खेलाडी तथा खेलकुदसँग सम्बन्धित सरोकारवालाबीच सहकार्य र समन्वय थप मजबुत हुने अपेक्षा गरिएको छ।

नेपालको बास्केटबल खेलको विकास र विस्तारका लागि प्रतियोगिताले दीर्घकालीन आधार निर्माण गर्ने विश्वास व्यक्त गर्दै आयोजकले प्रतियोगिताको सफलताका लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छ।