• मिति : अशोज २, २०८३
140 Shares

काठमाडौँ : नेपाली कांग्रेसले जिम्मेवारी खोसिएकासहित पाँच वटा जिल्लाका सभापतिलाई लेबी बुझाउन पत्र पठाएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भदौ ३१ मा पाँच वटा जिल्लाका सभापतिलाई पत्र पठाएर तत्काल लेबी बुझाउन भनेका छन्। पत्रमा बाग्लुङका सभापति जीत शेरचन, बझाङका खड्कबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, कञ्चनपुरका पदम बोगटी र मुगुका ऐनबहादुर शाहीलाई पत्र पठाएर लेबी बुझाउन निर्देशन दिइएको छ।

कांग्रेसको १५औं महाधिवेशनको प्रयोजनका लािग क्रियाशील सदस्यताको रकम वडा तह हुँदै जिल्लामा आइसकेको भए पनि केन्द्रमा नबुझाएको पत्रमा उल्लेख छ। उनीहरूलाई असोज २ गते दिउँसो १ बजेसम्म बैंक खातामा दाखेला गर्न भनिएको छ।

पत्रमा भनिएको छ, ‘हालसम्म पनि क्रियाशील सदस्यता वापत उठेको रकम केन्द्रमा दाखिला नगरेको हुँदा क्रियाशील सदस्यता वापतको सम्पूर्ण रकम २०८३ असोज २ गते १ बजेभित्र नेपाली कांग्रेस केन्द्रीय कार्यालयको देहायको खातामा जम्मा गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ।’

कांग्रेसले असोज १६-१९ मा महाधिवेशन गर्दै छ। महाधिवेशनमा सहभागी नभएको भन्दै कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन गर्दै छ। उनीहरू देउवा पक्षमा उभिएपछि जिम्मेवारी खोसिएको जनाइएको छ।