काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच भएको छलफलले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने सहमति गरेको छ ।
बैठकपछि रास्वपाका प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापन, पुनर्निर्माण तथा दीर्घकालीन विकासका विषयमा समन्वय गर्न संयन्त्रलाई सक्रिय राख्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलको सहभागिता रहनेछ ।
खरेलले बाढी तथा विपद्पछि तत्काल राहतमा मात्रै सीमित नभई भविष्यमा यस्ता जोखिम न्यूनीकरण र दिगो विकासका काममा समेत राजनीतिक तहबाट साझा पहल आवश्यक रहेकाले संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको बताए ।
बैठकले संसद्भित्र पनि छुट्टै सर्वदलीय उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेको छ । संसद्मा दलहरूले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित हुने गरी उक्त समिति गठन गर्न लागिएको हो ।
समिति गठनका लागि एक साताभित्र प्रक्रिया अघि बढाउन सभामुख र संसद्लाई औपचारिक आग्रह गर्ने निर्णय भएको खरेलले बताए ।
‘संसद्भित्रबाटै सर्वदलीय उच्चस्तरीय समिति बनाउने विषयमा सबै दल सहमत भएका छन् । दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व रहने गरी समिति गठनका लागि सभामुखसमक्ष अनुरोध गरिनेछ,’ उनले भने ।
बैठकमा प्रधानमन्त्रीको आगामी संयुक्त राष्ट्रसंघ महासभा सहभागिताका विषयमा पनि छलफल भएको थियो । सो क्रममा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई प्राथमिकताका साथ उठाउन सरकारलाई सुझाव दिइएको छ ।
खरेलका अनुसार बैठकमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरूले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा त्यसलाई निरन्तरता दिने पहलका लागि लामिछानेलाई धन्यवादसमेत दिएका छन् ।