काठमाडौं । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच व्यवसायिक कर्जा सम्झौता भएको छ ।
बैंक र नेपालभरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघबीच महासंघमा आवद्ध सदस्यहरुको व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने कुनै पनि ब्राण्डको गाडी खरिद गर्न र व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार महासंघमा आवद्ध सदस्यहरुले ढुवानीको लागि आवश्यक पर्ने गाडी खरिद गर्न र सोसम्बन्धी व्यवसाय सञ्चालनको लागि मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ । यस सहकार्यबाट ढुवानी व्यवसायीहरुले आफनो सेवा विस्तारको लागि सहजरुपमा वित्तीय सेवा प्राप्त गर्नसक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैंकको विश्वास छ ।