काठमाडौंमा खाद्य अनुगमनको एक्सन : एक होस्टेल बन्द, चार खाजा घरबाट ३०.५ किलो खाद्य पदार्थ नष्ट

  • मिति : भदौ ४, २०८३
293 Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंमा गरेको संयुक्त तथा आकस्मिक बजार अनुगमनका क्रममा खाद्य स्वच्छता र व्यवसाय सञ्चालनसम्बन्धी विभिन्न कैफियत फेला पारेको छ। अनुगमनका क्रममा एक होस्टेललाई बन्द गरिएको छ भने चार वटा खाजा घरबाट कृत्रिम खाद्य रंग प्रयोग गरिएका तथा अन्य कैफियतयुक्त खाद्य पदार्थ नष्ट गरिएको विभागले जनाएको छ।

विभागका अनुसार २०८३ भदौ २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त टोलीले काठमाडौं महानगरपालिका–३२, बालकुमारीस्थित न्यु फ्यामिली गर्ल्स होस्टेलको निरीक्षण गरेको थियो।

निरीक्षणका क्रममा होस्टेलको सरसफाइ अवस्था सन्तोषजनक नरहेको, भान्सा अव्यवस्थित रहेको तथा भेज र ननभेज खाद्य पदार्थ एउटै स्थानमा काट्ने र पकाउने गरेको पाइएको थियो। भण्डारण कक्षमा झिंगा तथा भुसुना भेटिनुका साथै कीट नियन्त्रणको व्यवस्था पनि नरहेको विभागले जनाएको छ।

होस्टेल दर्ता नगरी सञ्चालन गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु. ३ लाख जरिवाना गरेको छ। साथै, होस्टेल अव्यवस्थित र जीर्ण अवस्थामा रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त होस्टेल बन्द गरेको विभागको विवरणमा उल्लेख छ।

यसैगरी, विभागले प्राप्त गुनासोका आधारमा २०८३ भदौ २ गते टोखा–९, विष्णुमती करिडोर क्षेत्रमा चार वटा खाजा घरको आकस्मिक अनुगमन गरेको थियो।

मेरिना खाजा घरमा सरसफाइ कमजोर रहेको, फ्रिजमा शाकाहारी, मांसाहारी, काँचो तथा पाकेको खाद्य पदार्थ सँगै राखिएको र खाद्य पदार्थलाई पत्रिकाले छोपेर भण्डारण गरिएको पाइएको थियो। कृत्रिम खाद्य रंग प्रयोग गरी तयार पारिएका चिकेन लेगपिस, पखेटा, चिकेन खुट्टा र माछासहित करिब ९.५ किलो खाद्य पदार्थ नष्ट गरिएको विभागले जनाएको छ। व्यवसायलाई कैफियत सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

रामु खाजा घरमा व्यक्तिगत तथा समग्र सरसफाइ सन्तोषजनक नरहेको, फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको र भान्सामा एक्सहस्ट फ्यान नरहेको पाइएको थियो। कृत्रिम खाद्य रंग प्रयोग गरी तयार गरिएका चिकेन लेगपिस, पखेटा, आलु चप, चिकेन ललिपप र माछासहित करिब १४ किलो खाद्य पदार्थ नष्ट गरिएको छ।

सुर्खेत गुर्भाकोट खाजा घरमा पनि सरसफाइ तथा खाद्य पदार्थको भण्डारणमा कमजोरी देखिएको थियो। खुला फोहोरदानी तथा कृत्रिम खाद्य रंग प्रयोग गरी तयार गरिएका विभिन्न खाद्य पदार्थ भेटिएपछि करिब ५.५ किलो खाद्य पदार्थ नष्ट गरिएको विभागले जनाएको छ।

त्यस्तै, केटिएम खाजा घरको भान्सा र भाँडा सफा गर्ने स्थान एकै ठाउँमा रहेको तथा अत्यन्त साँघुरो रहेको, फोहोरदानी खुला राखिएको र आलु चपमा कृत्रिम रंग प्रयोग गरिएको पाइएको थियो। खुला अवस्थामा झिंगा भन्किरहेको करिब १ किलो मासु पनि भेटिएपछि कृत्रिम खाद्य रंग १०० ग्राम र उक्त मासु नष्ट गरिएको विभागले जनाएको छ।

चारवटै व्यवसायलाई देखिएका कैफियत सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागको विवरणअनुसार संयुक्त तथा आकस्मिक अनुगमनमा कुल पाँच वटा खाद्य व्यवसाय निरीक्षणमा परेका छन्। अनुगमनका क्रममा नष्ट गरिएको खाद्य पदार्थको मात्रा मात्रै करिब ३०.५ किलो पुगेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न खाद्य व्यवसायीलाई निर्देशन दिएको छ।