मकवानपुर । हेटौंडा–१९ बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेला परेको छ । निर्मल माध्यमिक विद्यालयबाट पढेर घर फर्किने क्रममा मंगलबार अपराह्न चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो । घटनापछि एक बालिकाको सकुशल उद्धार गरिएको थियो भने एक जनाको सोही दिन मृतावस्थामा शव फेला परेको थियो । दुई बालिका भने बेपत्ता थिए ।
बेपत्ता बालिकाको खोजीका लागि बुधबार बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयबासी परिचालन भएका थिए । खोजीका क्रममा विनिता भ्लोनको शव खोलामा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनामा अझै कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार खोलाले बगाएका चार विद्यार्थीमध्ये राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तानको शव सोही दिन फेला परेको थियो । कक्षा ६ मा अध्ययनरत सीमा भ्लोनलाई भने घाइते अवस्थामा उद्धार गरी हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासी जुटिरहेका छन् ।