नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता, आज औपचारिक समापन

  • मिति : साउन ३१, २०८३
191 Shares

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज साउन ३१ गते आइतबार औपचारिक रूपमा समापन हुँदैछ। साउन २६ गतेदेखि सुरु भएको ६ दिने एक्स्पोले पाँचौँ दिनमै आयोजकले राखेको अवलोकनकर्ता लक्ष्य पूरा गरेको छ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)का अनुसार शनिबार मात्रै ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। यससँगै पाँच दिनमा एक्स्पो अवलोकन गर्नेको संख्या १ लाख ५० हजारभन्दा बढी पुगेको छ। नाइमाले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने अनुमान गरेको थियो।

शनिबार अवलोकनकर्ताको चाप अत्यधिक बढेपछि पार्किङ व्यवस्थापनमा समेत चुनौती देखिएको थियो। भृकुटीमण्डप परिसरका खाली स्थान, नेपाल पुलिस क्लबको दुईतले भवन तथा खाद्य गोदामको परिसर प्रयोग गर्दा समेत पार्किङका लागि पर्याप्त स्थान उपलब्ध गराउन कठिन भएको आयोजकले जनाएको छ।

ठूलो झरीका बाबजुद पनि एक्स्पोमा अवलोकनकर्ताको उत्साह घटेको थिएन। काठमाडौँ सुनचाँदी व्यवसायी संघका सचिव लेखरत्न शाक्यले पानी परे पनि एक्स्पोमा अत्यधिक भीड रहेको बताए। उनले आफूले समेत एउटा स्कुटर बुक गरेको जानकारी दिए। संघका सह-सचिव अभिषेक शाक्यले विगतका वर्षको तुलनामा यसपटक एक्स्पोमा उल्लेख्य सहभागिता देखिएको बताए।

अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पोमा देखिएको उत्साहजनक सहभागिताले आफूहरू उत्साहित भएको बताए। उनका अनुसार आयोजकले राखेको लक्ष्य अन्तिम दिनअघि नै पूरा भइसकेको छ।

एक्स्पोको पहिलो दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए। पाँचौँ दिन मात्रै ४२ हजारभन्दा बढी अवलोकनकर्ता थपिएपछि पाँच दिनमै कुल संख्या डेढ लाख नाघेको हो।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। वितरक कम्पनीहरूले नयाँ तथा अत्याधुनिक मोडल सार्वजनिक गर्दै ग्राहकको ध्यान आकर्षित गरिरहेका छन्। हालसम्म एक्स्पोमा ५३ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक भइसकेका छन्।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ठूलो संख्यामा मानिसहरूको उपस्थितिले एक्स्पोलाई भव्य बनाएको बताइन्। पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले पनि यति धेरै अवलोकनकर्ता आकर्षित गर्न सक्नु नाइमाको ठूलो सफलता भएको बताए।

एक्स्पोमा विशेषगरी युवा पुस्ताको नयाँ तथा महँगा ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनप्रति आकर्षण देखिएको छ। ग्राहकहरूले सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र पुनः बिक्री मूल्यबारे बढी चासो राखेका छन्।

ग्राहकलाई आकर्षित गर्न विभिन्न कम्पनीले नगद छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा सस्तो ब्याजदरमा कर्जाजस्ता सुविधा उपलब्ध गराएका छन्।

एक्स्पोको पाँचौँ दिन लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहब प्रालिले ‘आर्कफक्स’ क्रसओभर मोडलसमेत सार्वजनिक गरेको थियो। नेपालमा पहिलोपटक भित्रिएका ब्रान्डदेखि नयाँ विद्युतीय कार, ई-स्कुटर तथा व्यावसायिक विद्युतीय सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन्।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। सवारी खरिदलाई सहज बनाउन बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीहरूले समेत विशेष अफर र सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्।

एक्स्पोको सह-प्रायोजक ग्लोबल आइएमई बैंक र ‘पावर्ड बाई’ रेडबुल रहेका छन्। बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक तथा इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स रहेका छन्।

छ दिनका लागि आयोजना गरिएको एक्स्पोले पाँचौँ दिनमै लक्ष्यभन्दा बढी अवलोकनकर्ता आकर्षित गरेसँगै नेपाली अटोमोबाइल बजारप्रति उपभोक्ताको बढ्दो चासो र नयाँ विद्युतीय तथा प्रविधियुक्त सवारीसाधनप्रतिको आकर्षणलाई समेत प्रतिबिम्बित गरेको छ।