ठुला नदीको बहाव सामान्य, आज १२ जिल्लाका साना खोलामा बाढीको जोखिम

  • मिति : साउन २८, २०८३
480 Shares

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार देशका मुख्य नदीहरूमा पानीको बहाव नियन्त्रणमै रहेको छ। बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।

कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि पानीको सतह खतराको तहभन्दा तल रहेको महाशाखाले जनाएको छ। ठुला नदीमा जोखिम कम देखिए पनि आज विभिन्न १२ जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, म्याग्दी, जुम्ला, दैलेख र आसपासका जिल्ला भएर बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने छ। ती क्षेत्रमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।

यस्तै भोलि र पर्सि गण्डकी प्रदेश भएर बहने केही स-साना नदीहरूमा पनि पानीको बहाव अचानक बढ्न सक्ने पूर्वानुमान छ। आगामी केही दिन साना नदी किनारका क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।