काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले देशभरिका जनताले ग्यास अभावको समस्या भोग्नुपरेको भन्दै यसबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।
बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले जनताले ग्यास नपाएको गुनासो गरेको र लामो लाइन समेत देखिएको भन्दै यसबारे सरकारको जवाफ आउनुपर्ने बताइन् । साथै उनले सरकारले ग्यासको समस्या छैन भन्ने तर नागरिकले कहिल्यै नपाउने अवस्थाबारे सरकारलाई रुलिङ गर्न माग गरिन् ।
अर्का सांसद तुलप्रसाद विश्वकर्माले पनि ग्यास अभावका कारण नागरिकले ठुलो कष्ट भोग्नुपरेको भन्दै यसमा सरकारले चासो नदिएको बताए । ‘ग्यास समस्या देशभर भएको छ । यसमा सरकारले चासो दिएको समस्या समाधान गरोस्’, विश्वकर्माको भनाइ छ । अर्का सांसद नरबहादुर विष्टले पनि कहिलेसम्म सरकारले ग्यास उपलब्ध गराउने हो भनेर प्रश्न गरे ।
सांसद नारायणदत्त मिश्रले सुनसरीको देवानगञ्ज घटना निष्पक्ष छानबिनको माग गरे ।