काठमाडौँ : धर्तीको भू-स्वर्ग बाजुराको पर्यटकीय, ऐतिहासिक र धार्मिक आस्थाको धरोहर बडी मालिकामा यस वर्षको जनैपूर्णिमा मेला पूजा आरम्भ भदौ १ गते अर्थात् श्रावण शुक्ल पक्षको पञ्चमी तिथिबाट सुरु हुने भएको छ ।
बडी मालिकामा मुख्य पूजा जनपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने गर्छ । मुख्य पूजा भदौ ११ गते भए पनि तिर्थालु भक्तजनको भिडलाई मध्यनजर गर्दै भदौ १ गते श्रावण शुक्ल पक्षको पञ्चमी तिथिको दिन यज्ञ स्थापना गरेर पूजा आरम्भ गरिने मन्दिरका पुजारी नेत्र प्रसाद उपाध्यायले बताए ।
सदरमुकाम मार्तडीमा शुक्रबार भएको सर्वपक्षीय छलफलमा बोल्दै पुजारी उपाध्यायले केही दिन अघिबाट पूजा आरम्भले दर्शनार्थीलाई बडी मालिका माताको दर्शनमा सहयोग पुग्ने बताएका हुन् । सर्वपक्षीय बडी मालिका र बुढीनन्दामा लाग्ने मेलाको उचित व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको बडी मालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन् । यहाँ लोपन्मुख प्रजातिका वन्य जन्तु तथा पशु पंक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटिन्छन् । हरियाली फाँटमा भेँडा र घोडाका बथान देख्न सकिन्छ। बडी मालिका स्वर्ग भित्रको अर्को नयाँ संसारको रूपमा समेत परिचित छ ।