काठमाडौं । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ठूलो घाटामा पुगेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्म ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले जेनजी आन्दोलनबाट सिर्जित क्षतिको दाबी भुक्तानीका कारण वित्तीय नतिजामा ठूलो दबाब परेको जनाएको छ । यसै प्रभावले रिटेन्ड अर्निङ ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ, जबकी अघिल्लो वर्ष यही शीर्षकमा ९३ करोड ३७ लाख रुपैयाँ बचत थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी १३.२३ प्रतिशतले घटेर ६ अर्ब ७९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, खुद बीमाशुल्क आम्दानी पनि १८.०१ प्रतिशतले घट्दै ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ४३.५१ रुपैयाँ ऋणात्मक बनेको छ भने प्रतिशेयर नेटवर्थ १०९.२० रुपैयाँमा झरेको छ । यद्यपि कम्पनीले विशेष रिजर्भ ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ र महाविपत्ति कोष ४२ करोड ७६ लाख रुपैयाँ यथावत् राखेको छ ।
व्यवस्थापनका अनुसार कम्पनीले स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय पुनर्बीमकको छवि कायम राखे पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावट, आर्थिक गतिविधिमा आएको सुस्तता र विश्वव्यापी आर्थिक अनिश्चितताले लगानी प्रतिफल तथा बीमा व्यवसायको विस्तारमा चुनौती थपेको छ । कम्पनीले आगामी दिनमा लगानी विविधीकरणलाई प्राथमिकता दिने जनाएको छ ।