रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

  • मिति : असार २१, २०८३
344 Shares

काठमाडौं । रुस र युक्रेनले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म एकअर्काविरुद्ध व्यापक आक्रमणहरू गरेको जानकारी दिएका छन् ।

रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत विगत २४ घण्टामा आफ्ना सेनाले युक्रेनी सेनाको इन्धन, ऊर्जा तथा यातायात पूर्वाधारका साथै लामो दूरीका ड्रोन उत्पादन र भण्डारण केन्द्रहरू गरी १४२ स्थानमा आक्रमण गरेको जनाएको छ।

मन्त्रालयका अनुसार रुसी सेनाले युक्रेनी सैनिक र विदेशी भाडाका लडाकुहरूको अस्थायी तैनाथी स्थलहरूलाई पनि निशाना बनाएको छ । साथै, खार्किभ क्षेत्रमा थप चार बस्तीहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।

उता, युक्रेनको सशस्त्र बलको जनरल स्टाफले शुक्रबारदेखि शनिबारसम्म २६८ वटा युद्ध भिडन्त भएको जनाएको छ ।

जनरल स्टाफका अनुसार विगत २४ घण्टामा युक्रेनी सेनाले रुसका तीनवटा कमाण्ड पोस्ट, पाँचवटा ड्रोन नियन्त्रण केन्द्र तथा अन्य सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ । साथै, रुसी पक्षबाट प्रहार गरिएका दुईवटा मिसाइल र १७ वटा ड्रोनले १६ स्थानलाई निशाना बनाएको उल्लेख गरिएको छ ।

युक्रेनी रक्षा बलले शनिबार बिहान सबेरै आजोभ सागरको आकाशमा रहेको एउटा रुसी सैन्य हेलिकोप्टरलाई निशाना बनाएको तथा लुहान्स्क क्षेत्रमा सिभेस्र्की दोनेत्स नदीमाथिको रेल पुलमा पनि आक्रमण गरेको जनरल स्टाफले जनाएको छ ।