बालेन सरकारप्रति बिरामी र कुरुवाको गुनासो : सास्ती उस्तै, व्यवहार रुखो

  • मिति : असार २०, २०८३
480 Shares

काठमाडौं । संघीय सरकारको एकसय दिनको कार्यसम्पादन यतिबेला जनचासोको मुख्य विषय बनेको छ । नयाँ सरकार गठन भएसँगै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भएको चर्चा भएपनि वास्तविकता फरक रहेको भुक्तभोगीहरुले बताएका छन् ।

कतिपय सरकारी अस्पतालहरुमा लाइन उस्तै रहेको, वेड अभाव ज्यूँकात्यूँ रहेको साथै अस्पतालको सेवा प्रवाह एवम औषधि अभावमा कमी नआएको अस्पताल परिसरमा भेटिएकाहरुको अनुभव छ ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारको एकसय बुँदे कार्यसूचीको बुँदा नम्बर ८५ मा स्वास्थ्य क्षेत्रमा उल्लेख्य र सकारात्मक परिवर्तन देखिएको समाचारहरु आइरहेपनि भुक्तभोगीहरुले फरक अनुभव साटेका हुन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका थुप्रै विसङ्गतिहरूलाई पाखा लगाउँदै डिजिटल अभिलेख प्रणाली, निःशुल्क उपचार र सुशासनका क्षेत्रमा महत्त्वपूर्ण कदम चालेको दाबी गरेको छ ।

तर देशकै सबैभन्दा पुरानो र ठूलो सरकारी अस्पताल ‘वीर अस्पताल’मा उपचारका लागि आउने बिरामी तथा उनीहरूका कुरुवाहरूले सरकारबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

सरकार परिवर्तन भए पनि अस्पतालको सेवा प्रवाह, औषधि अभाव र लामो लाइन बस्नुपर्ने बाध्यतामा ठोस सुधार नभएको सेवाग्राहीहरूको गुनासो छ ।

अस्पतालमा भेटिएका कतिपय सेवाग्राहीले टिकट काट्ने समयमा केही सुधार भएको महसुस गरे पनि जनशक्ति र तल्लो तहका कर्मचारीहरूको व्यवहारका कारण अझै सास्ती खेप्नुपरेको बताए ।

विशेषगरी सरकारी स्वास्थ्य बीमा गराएका बिरामीहरूले औषधि नपाउने, रिफरल प्रणाली झन्झटिलो भएको र अस्पतालभित्रै पनि विभेदकारी व्यवहार हुने गरेको दुखेसो पोखेका छन् ।

कन्चन बम भन्छिन्, ‘टिकटमा केही सहजता छ तर कर्मचारीको व्यवहार ठाडो र रुखो छ ।

अस्पताल परिसर भेटिएकी बमका अनुसार पहिलेको तुलनामा वीर अस्पतालको टिकट काट्ने प्रक्रियामा केही सुधार र परिवर्तन पक्कै भएको छ । विगतमा बिहान ७ बजे नै आएर लामो लाइनमा बस्नुपर्ने र एउटा टिकट काट्दा दिनभरको समय बर्बाद हुने अवस्था रहेकामा हाल पहिलेको तुलनामा समयको बचत र छिटोछरितोपन आएकोमा उनले सन्तोष व्यक्त गरिन् ।

तर, अस्पतालका कर्मचारी र डाक्टरहरूको व्यवहारप्रति भने उनको ठूलो गुनासो छ । विशेषगरी टिकट काउन्टर र सोधपुछमा बस्ने तल्लो तहका कर्मचारीहरूको बोलीचाली र व्यवहार निकै ठाडो एवं रुखो (रुड) हुने गरेको उनले बताइन् ।

सुदूरपश्चिमबाट आएका आफ्ना बुबाको उपचारका लागि धाउँदा डाक्टरहरूले समेत रिपोर्ट देखाउने क्रममा ‘बिरामीलाई नै बोलाउनुस्, हामी हेलचेक्र्याइँ गर्दैनौँ’ भन्दै अमानवीय र असहयोगी शैली प्रस्तुत गरेको बताइन् । टाढाबाट आएर थाकेका बिरामी र कुरुवाहरूसँग अस्पताल प्रशासन र चिकित्सकहरूले नम्र (पोलाइट) भएर धैर्यताका साथ व्यवहार गर्नुपर्ने उनको माग छ ।

यस्तै, अनुष्का तामाङको आक्रोश वार्डमा कर्मचारीको दुर्व्यवहार र सरसफाइमा चरम लापरबाही भएको बताइन् । करेन्ट लागेर वीर अस्पतालको इमर्जेन्सी हुँदै वार्डमा भर्ना भएकी अनुष्काले अस्पतालको आन्तरिक व्यवस्थापन र सरसफाइको चरम दुरावस्थाबारे आक्रोश व्यक्त गरिन् ।

सरकारी अस्पतालमा सेवा लिन आउँदा दुःख पाइने परिपाटी नयाँ सरकार आए पनि अन्त्य हुन नसकेको उनको भनाई छ ।

तामाङका अनुसार अस्पतालभित्र हाइजिन (सरसफाइ)को अवस्था एकदमै दयनीय छ । बिरामीले लगाउने ‘पेशेन्ट गाउन’ र कुरुवा बस्नेले लगाउने ‘भिजिटर गाउन’ जताततै फोहोर रूपमा फालिएका हुन्छन् र तिनै मयल परेका गाउनहरू पुन प्रयोग गर्न बाध्य पारिन्छ ।

एक जनाले प्रयोग गरेर फुकालेको गाउन अर्को बिरामीको कुरुवालाई दिने गरिएको र यसबारे प्रतिवाद गर्दा ‘इन्फेक्सन (संक्रमण) हुन्छ’ भन्दै उल्टै कर्मचारीले थर्काउने गरेको सुनाइन् ।

उपचारका लागि ट्रमा सेन्टर पुगेका कमल भुसाललाई त्यहाँबाट वीर अस्पतालमा रिफर गरिएको थियो । वीरमा आउँदा पुरानो टिकटले काम नगरेपछि उनले फेरि नयाँ टिकट काट्न लामो लाइन बस्नुपरेको सुनाए । टोकन प्रणालीले भीड व्यवस्थापनमा केही मद्दत गरे पनि अस्पतालभित्रको आन्तरिक व्यथिति अझै जस्ताको तस्तै रहेको उनको भनाई छ ।

भुसालले स्वास्थ्य बीमाको नाममा सर्वसाधारणले चरम सास्ती भोग्नुपरेको उल्लेख गरे । राज्यले बीमा अन्तर्गत कुन–कुन औषधि निःशुल्क दिने हो, त्यसको कुनै स्पष्ट जानकारी सूचना पाटीमा नराख्दा बिरामीहरू बाहिर महँगोमा औषधि किन्न बाध्य छन् ।

त्यस्तै, अस्पतालको रिफरल सिस्टम (एक ठाउँबाट अर्को ठाउँ पठाउने प्रक्रिया) असाध्यै झन्झटिलो छ । एउटा सामान्य जाँचका लागि जमल वा अन्य प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफरल लिन जाँदा कार्यालय समयमै डाक्टरहरू गायब हुने गरेको उनले बताए ।