इन्धनमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न ज्ञानेन्द्र शाहीकाे माग

  • मिति : असार १७, २०८३
684 Shares

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन बिक्री रोक्ने व्यवसायीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै शाहीले सरकारले इन्धनको मूल्य घटाएको भोलिपल्ट नै देशका विभिन्न स्थानबाट पेट्रोल तथा डिजेल उपलब्ध नभएको भन्दै बिक्री रोकिएको सूचना प्राप्त भएको उल्लेख गरेका छन्।

उनले मूल्य घटेपछि पहिलेको उच्च मूल्यमा खरिद गरिएको इन्धन जोगाएर बढी नाफा आर्जन गर्ने उद्देश्यले केही पेट्रोल पम्पले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यस्तो कार्यले उपभोक्तालाई मर्कामा पार्नुका साथै बजार प्रणाली र कानुनी शासनको समेत उल्लंघन हुने उनको भनाइ छ।

शाहीले सरकार, सम्बन्धित नियामक निकाय तथा अनुगमन संयन्त्रलाई बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गर्दै इन्धन लुकाउने, बिक्री स्थगित गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पको छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।