चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को बसाइका लागि विशेष सुरक्षा व्यवस्था गरिएको छ।
प्रधानमन्त्री शाह परिवारसहित कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने व्यवस्था मिलाइएको हो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै रिसोर्टका सबै कोठा चार दिनका लागि बुक गरिएको छ।
रिसोर्टमा प्रधानमन्त्री शाह, गृहमन्त्री सुदन गुरुङसहित बालेन पक्षका नेताहरू बस्ने जनाइएको छ । रिसोर्टका ३ वटा भीभीआईपी रुम तयार गरिएको छ ।
सुरक्षा व्यवस्थाअन्तर्गत रिसोर्टका अधिकांश कर्मचारीलाई अस्थायी बिदा दिइएको छ भने अत्यावश्यक सेवाका लागि सीमित कर्मचारी मात्रै खटाइएको स्रोतले जनाएको छ। त्यस्तै, रिसोर्टभित्र रहेका सीसीक्यामेरा बन्द गरिएको र कर्मचारीलाई फोटो वा भिडियो खिच्न नदिन निर्देशन दिइएको बताइएको छ। प्रधानमन्त्रीको आगमनअघि नेपाली सेना र नेपाल प्रहरीले रिसोर्टको सुरक्षा निरीक्षण तथा आवश्यक तयारी पूरा गरिसकेका छन्।