राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का, को हुन् उनी?

  • मिति : असार ५, २०८३
276 Shares

काठमाडौं । चलचित्रको पर्दामा कलाकार देखिन्छन्, संवाद सुनिन्छन् र दृश्यले दर्शकलाई कथाभित्र तान्छ। तर ती दृश्यलाई सही क्रम, गति र भावमा बाँध्ने सम्पादक भने प्रायः पर्दापछाडि नै रहन्छन्।
त्यही पर्दापछाडिको काममा करिब १७ वर्ष बिताएका चलचित्र सम्पादक नहकुल खड्काले राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ मा सर्वोत्कृष्ट चलचित्र सम्पादकको पुरस्कार प्राप्त गरेका छन्।
सम्माननीय राष्ट्रपतिबाट पुरस्कार ग्रहण गरेका खड्काका लागि यो सम्मान लामो समयदेखिको मेहनत, निरन्तरता र सम्पादनप्रतिको समर्पणको उपलब्धि बनेको छ।

‘के घर के डेरा : घर नम्बर २’, ‘कोसेढुंगा’ र ‘हरिबहादुरको जुत्ता’ लगायत उनले सम्पादन गरेका चलचित्र यस वर्षको पुरस्कार प्रतिस्पर्धामा सहभागी थिए। भने यस अघि आयोजना भएको ग्रामिण फिल्म फेस्टिभलमा समेत उनले यसै चलचित्रबाट उत्कृष्ट सम्पादकको अवार्ड जित्न सफल भएका थिए ।

धनकुटामा जन्मिएका खड्का १९ वर्षदेखि नेपाली चलचित्र सम्पादन क्षेत्रमा सक्रिय छन्। सहायक सम्पादकका रूपमा यात्रा थालेका उनले सहसम्पादक हुँदै मुख्य सम्पादकका रूपमा आफ्नो परिचय बनाएका हुन्।

यस अवधिमा सहायक सम्पादक, सहसम्पादक र सम्पादकका रूपमा २०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्।
चलचित्र क्षेत्रमा उनी शान्त स्वभावका, जिम्मेवार र कामप्रति प्रतिबद्ध प्राविधिकका रूपमा चिनिन्छन्। प्रचारमा भन्दा काममा केन्द्रित रहने उनको स्वभाव रहेको सहकर्मीहरू बताउँछन्।

सम्पादन कक्षमा लामो समय बिताउँदै खड्काले चलचित्रको दृश्यभाषा, कथाको संरचना र पात्रको भावनात्मक यात्रालाई बुझ्ने अनुभव हासिल गरेका छन्। सामान्य बुझाइमा चलचित्र सम्पादनलाई दृश्य काट्ने र जोड्ने कामका रूपमा लिइन्छ। तर सम्पादकको भूमिका त्यतिमै सीमित हुँदैन।

कुन दृश्य राख्ने, कुन हटाउने, एउटै दृश्यका धेरै ‘टेक’मध्ये कुन प्रयोग गर्ने र एउटा दृश्यबाट अर्को दृश्यमा कथा कसरी लैजाने भन्ने निर्णय सम्पादन कक्षमै हुन्छ। सम्पादकले चलचित्रको गति निर्धारण गर्छ। दृश्यबीचको लय मिलाउँछ र कथाले दर्शकमा पार्ने भावनात्मक प्रभाव निर्माण गर्छ।

छायांकन गरिएका सयौं दृश्य र हजारौं क्लिपबाट उपयुक्त अंश छनोट गरेर एउटै कथा तयार पार्नु धैर्य, प्राविधिक ज्ञान र सिर्जनात्मक दृष्टि आवश्यक पर्ने काम हो। खड्काले यही जिम्मेवारीलाई डेढ दशकभन्दा बढी समयदेखि निरन्तरता दिँदै आएका छन्।
खड्काले चलचित्र सम्पादन सुरु गर्दाको प्रविधि र अहिलेको डिजिटल सम्पादन प्रणालीमा ठूलो परिवर्तन आएको छ।
नयाँ सफ्टवेयर, डिजिटल फाइल प्रणाली र चलचित्र निर्माणको बदलिँदो शैलीसँगै सम्पादकले पनि आफ्नो ज्ञान र काम गर्ने तरिका अद्यावधिक गर्नुपर्ने हुन्छ।

खड्काले बदलिँदो प्रविधिसँग आफूलाई अनुकूल बनाउँदै चलचित्र सम्पादनमा निरन्तर सक्रियता कायम राखेका छन्।
निर्देशकको परिकल्पना, छायाकारले खिचेका दृश्य र कलाकारको अभिनयलाई एउटै कथात्मक प्रवाहमा जोड्ने काम सम्पादकले गर्छ। यही कारण सम्पादनलाई चलचित्र निर्माणको अन्तिम लेखन पनि भनिन्छ।

राष्ट्रिय चलचित्र पुरस्कारले खड्काको कामलाई राष्ट्रिय तहमा पहिचान दिएको छ। यससँगै आगामी चलचित्रमा अझ परिष्कृत काम प्रस्तुत गर्ने जिम्मेवारी पनि थपिएको उनि स्विकारछन् ।
उनको सफलताले चलचित्र निर्माणमा पर्दापछाडि काम गर्ने सम्पादक तथा अन्य प्राविधिकको भूमिकालाई पनि चर्चामा ल्याएको छ।
कलाकार र निर्देशकसँगै सम्पादक, छायाकार, ध्वनि प्राविधिक र कला निर्देशकको योगदानले चलचित्रलाई पूर्ण बनाउँछ। तर पर्दापछाडिका यस्ता जनशक्तिको कामबारे सार्वजनिक चर्चा तुलनात्मक रूपमा कम हुने गरेको छ।