दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ

  • मिति : असार २, २०८३
820 Shares

गोरखा । गोरखामा एक युवकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। गोरखा नगरपालिका वडा नं ७ छिपीनीटोलमा रहेको गोरखा दोहोरी साँझ नजिकै सडकमा भएको कुटपिटबाट गम्भीर घाइते भएका वारपाक सुलिकोट गाउँपालिका वडा नं ३ का ३२ वर्षीय सन्त बहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घटना गत जेठ २७ गते राती भएको थियो। अज्ञात समूहले गुरुङलाई लात, मुक्का र ढुंगाले टाउकोमा प्रहार गरी सख्त घाइते बनाएर फरार भएको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइते गुरुङलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल गोरखा पुर्‍याएको थियो। अस्पतालमा प्रारम्भिक उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका गुरुङ जेठ २९ गते दिउँसो अचानक अचेत भई ढलेका थिए। त्यसपछि उनलाई पुनः उपचारका लागि तत्काल प्रदेश अस्पताल गोरखा पुर्‍याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

गुरुङको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय गोरखाले घटनाको गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले कुटपिट र ढुंगा प्रहार गरी हत्यामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका वडा नं ७ रोटेपानी बस्ने बुद्धरत्न शाक्य र रोहिनी शाक्यका २४ वर्षीय छोरा बोनस शाक्य रहेका छन्।

त्यसैगरी धार्चे गाउँपालिका वडा नं २ केरौजा घर भई हाल गोरखा नगरपालिका वडा नं ८ बगैँचा बस्ने सामवर गुरुङ र विष्णु गुरुङका २३ वर्षीय छोरा मिङमर गुरुङ तथा सिरानचोक गाउँपालिका वडा नं २ थालाजुङ बस्ने प्रतमान गुरुङ र जमुना गुरुङका २९ वर्षीय छोरा होमराज गुरुङ पनि पक्राउ परेका छन्। प्रहरीले धार्चे गाउँपालिका वडा नं १ हुलचुक बस्ने सुकसिङ गुरुङ र सन्त माया गुरुङका २४ वर्षीय छोरा सन्तोष गुरुङलाई पनि नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राज कुमार श्रेष्ठका अनुसार पक्राउ परेका सबै अभियुक्तहरूलाई हिरासतमा राखेर कानूनी कारबाही अघि बढाउन सम्मानित गोरखा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिइएको छ। घटनाको विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान कार्य गरिरहेको जानकारी दिएको छ।