पोल नसार्ने ठेकेदारको खुट्टा भाँचिदिनुस् केहि मतलब भएन : पूर्वाधारमन्त्री लम्साल

  • मिति : असार १, २०८३
514 Shares

काठमाडौँ : भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले आयोजना अनुगमनको क्रममा ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्।

मन्त्री लम्साल आइतबार नागढुङ्गा-मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनमा गएका थिए। उनले काममा ढिलाई नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिए।

वर्षायाम सुरु भएकाले निम्तिन सक्ने जोखिमलाई न्यूनिकरण गरेर निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिए। मन्त्री लम्सालले काममा लापरवाही वा अनावश्यक ढिलाइ स्वीकार्य नहुने चेतावनी पनि निर्माण पक्षलाई दिएका छन्।

सडक आयोजना निर्माणको क्रममा बिजुलीको पोल नसारिएकोले अवरोध भएको निर्माण पक्षले गुनासो गरेपछि मन्त्री लम्सालले बिजुलीको पोल सार्ने कन्ट्रयाक्टरलाई खोजेर ल्याउन भनेका थिए।

‘यो पोलवाला जो हो नि बिजुलीको पोल। यो कन्ट्रयाक्टर कहाँ छ, यो धर्तीमा जहाँ भए पनि यहाँ ल्याएर राख्नुस्। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस् मतलब भएन,’ मन्त्री लम्सालले निर्देशन दिँदै भने, ‘चाँडोभन्दा चाँडो पोल सार्न पर्‍यो। यहाँका पब्लिकले धेरै दुःख पाए।’

उनले आयोजनालाई अघि बढाउन आवश्यक निर्माण सामग्री जुटाउनको लागि सहजीकरण गरिदिन पनि आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन्।

करिब ९५ किलोमिटर दूरी रहेको नागढुंगा-मुग्लिन सडक खण्ड तीन वटा प्याकेज छुट्टयाएर स्तरोन्नति गरिँदै छ। पहिलो प्याकेजमा नागढुंगा-नौबिसे, दोस्रोमा नौबिसे-मलेखु र तेस्रोमा मलेखु-मुग्लिन भनी छुट्टयाइएको छ।

यसअघि मन्त्री लम्सालकै निर्देशनमा नौबिसे-मुग्लिन आयोजनामा काम गरिरहेको निर्माण व्यवसायी शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मालाई वैशाख २८ मा प्रहरी लगाएर सिंहदरबार पुर्‍याएका थिए।

शर्माले निर्माणको क्रममा भएको अवरोधको जानकारी गराएपछि मन्त्रालयका सचिवले माफी मागेर निर्माण व्यवसायी शर्मालाई छाडेका थिए।