भन्सार छलीको आशंकामा कोरला नाकाबाट भित्रिएका ११९ बीवाईडी गाडी नियन्त्रणमा

  • मिति : जेष्ठ २३, २०८३
650 Shares

पोखरा । भन्सार छली भएको आशंकामा मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्र्याइएका चिनियाँ कम्पनी बीवाईडीका सवारी साधनमध्ये ११९ वटा गाडी कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित सुइँखेत क्षेत्रमा रोकिएको अवस्थामा फेला परेको छ ।

प्राप्त जानकारी अनुसार कोरला नाका हुँदै नेपाल भित्र्याइएका करिब ७७५ वटा बीवाईडी गाडीमध्ये शंकास्पद रूपमा ल्याइएका ११९ वटा गाडीलाई सशस्त्र प्रहरी बल नेपाल, कालिका गण कास्कीले निगरानीमा राखेको छ । ती गाडीहरू हाल हेम्जाको सुइँखेत क्षेत्रमा पार्किङ गरी राखिएको बताइएको छ ।

भन्सार प्रक्रिया, राजस्व भुक्तानी तथा आयात सम्बन्धी कागजातहरूमा अनियमितता भएको हुनसक्ने आशंकापछि सम्बन्धित निकायहरूले अनुसन्धान अगाडि बढाएका छन् । गाडीहरू वैधानिक प्रक्रिया पूरा गरेर भित्र्याइएका हुन् वा होइनन् भन्ने विषयमा भन्सार कार्यालय, राजस्व अनुसन्धान विभाग तथा सुरक्षा निकायहरूले आवश्यक छानबिन गरिरहेको स्रोतले जनाएको छ ।

स्थानीयबासीका अनुसार एकै स्थानमा ठूलो संख्यामा नयाँ विद्युतीय गाडीहरू लामो समयदेखि राखिएको देखिएपछि विषय सार्वजनिक चासोको केन्द्र बनेको छ । अनुसन्धान सम्पन्न नभएसम्म गाडीहरूको अन्तिम कानुनी अवस्था स्पष्ट नहुने सम्बन्धित अधिकारीहरूको भनाइ छ । यस घटनाले नेपालमा विद्युतीय सवारी साधन आयात, भन्सार प्रणाली तथा राजस्व संकलन प्रक्रियाको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ । भन्सार छली पुष्टि भएमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानून बमोजिम कारबाही हुने बताइएको छ ।