पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

  • मिति : जेष्ठ ७, २०८३
837 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । साथै, बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, मधेश प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।