७९ औं विश्व स्वास्थ्य महासभामा नेपाललाई ‘उपाध्यक्ष’को जिम्मेवारी

  • मिति : जेष्ठ २, २०८३
786 Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सर्वोच्च नीति–निर्माण तह ७९ औं विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दैछ ।

आगामी २०८३ जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने यस महासभामा नेपालले ‘उपाध्यक्ष’को भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको नेतृत्वमा भोलि (आइतबार) जेनेभा प्रस्थान गर्न लागेको नेपाली प्रतिनिधिमण्डलले यस मञ्चमा नेपालको तर्फबाट नेतृत्वदायी प्रस्तुती दिनेछ ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाउने क्रममा विगतमा ठूलो संख्यामा प्रतिनिधिमण्डल पठाउने ‘जम्बो टोली’को प्रवृत्ति रहँदै आएकोमा यसपटक सरकारले त्यसमा सुधार गर्दै छरितो र विज्ञहरू सम्मिलित टोली मात्र पठाउने निर्णय गरेको छ ।

परराष्ट्र मन्त्रालयको विवरणअनुसार, कुल ९ सदस्यीय प्रतिनिधिमण्डलमध्ये नेपालबाट मन्त्री मेहतासहित जम्मा तीन जना उच्चपदस्थ अधिकारीहरू मात्र जेनेभा प्रस्थान गर्नेछन् । बाँकी ६ जना सदस्यहरू जेनेभास्थित नेपालको स्थायी नियोगबाटै सहभागी हुने व्यवस्था मिलाइएको छ ।

अनावश्यक भ्रमण भत्ता र हवाई भाडा जस्ता प्रशासनिक खर्च कटौती गर्दै विदेशस्थित कूटनीतिक नियोगको जनशक्तिलाई अधिकतम उपयोग गर्ने सरकारको तयारी छ ।

नेपालबाट प्रस्थान गर्ने अधिकारीहरू :

निशा मेहता : मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (प्रतिनिधिमण्डल प्रमुख)

यशोदा अर्याल : सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

डा. रोशन न्यौपाने : सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

जेनेभास्थित स्थायी नियोगबाट सहभागी हुने अधिकारीहरूः

रामप्रसाद सुवेदी : राजदूत तथा स्थायी प्रतिनिधि

डमरु बल्लभ पौडेल : उप–स्थायी प्रतिनिधि

सुवाङ्ग पराजुली : काउन्सिलर

श्रीकृष्ण सिलवाल : प्रथम सचिव

रोनल राई : प्रथम सचिव

सुजन लामिछाने : द्वितीय सचिव