काठमाडौं । नेपाली खानाको मौलिकता, विविधता तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्टरनेशनल नेपाली सेफ सोसाइटी र नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा “दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६” सुरु भएको छ।
दुई दिने उक्त कार्यक्रम आजदेखि दमकस्थित युनिभर्सल कलेजमा सुरु भएको हो । प्रतियोगिता मे १६ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममार्फत नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतासँग जोड्ने लक्ष्य राखिएको छ।
आयोजकका अनुसार प्रतियोगितामा नेपालको सातै प्रदेशका मौलिक तथा रैथाने परिकारको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ। विभिन्न भूगोलका परम्परागत तथा लोपोन्मुख खानालाई एउटै मञ्चमार्फत प्रस्तुत गरिएको छ।
कार्यक्रमले आधुनिक पाककलाको प्रविधि र परम्परागत स्वादबीच सन्तुलन कायम गर्दै युवा पुस्ताका सेफहरूलाई सिर्जनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्ने उद्देश्य पनि राखेको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत खुला कुकिङ प्रतियोगिता, विभिन्न फुड कन्टेस्ट तथा ५० भन्दा बढी स्टलसहितको विशाल फुड फेस्टिभल आयोजना गरिएको छ, जहाँ स्थानीय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ।
प्रतियोगितामा विभिन्न देशका १० भन्दा बढी अनुभवी अन्तर्राष्ट्रिय सेफ निर्णायकको रूपमा सहभागी छन्। उनीहरूको उपस्थितिले नेपाली सेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन तथा व्यावसायिक अनुभव आदान–प्रदानको अवसर मिल्ने आयोजकको विश्वास छ।
प्रतियोगितामा सहभागिताका लागि तीन सदस्यीय टोली अनिवार्य गरिएको थियो। इच्छुक टोलीहरूले सोसाइटीको आधिकारिक खातामा दर्ता शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गरेका थिए।
प्रतियोगिताको पुरस्कारतर्फ प्रथम हुने टोलीलाई १ लाख रुपैयाँ, द्वितीयलाई ७५ हजार रुपैयाँ र तृतीयलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै सबै सहभागीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक टोलीलाई “मिस्ट्री बक्स” समेत उपलब्ध गराइएको छ।
आयोजकले कार्यक्रमले पाककला क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
इन्टरनेशनल नेपाली सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन सञ्चारमाध्यम तथा पत्रकारहरूलाई सहयोग र सहकार्यका लागि आग्रह गरेका छन्।
तस्बिरहरु
