मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

  • मिति : बैशाख २५, २०८३
667 Shares

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत इच्छा कामना गाउँपालिका–५ स्थित तुइनखोला नजिकै आज बिहान खसेको सुख्खा पहिरो पन्छाएपछि सडक दुवैतर्फ सुचारु भएको छ ।

बिहानै माथिबाट एक्कासी ढुंगासहितको ठूलो पहिरो खसेपछि यो व्यस्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा पहिरो थुप्रिएपछि गन्तव्यतर्फ गुडिरहेका सवारी साधनहरू बीच बाटोमै रोकिएका थिए, जसका कारण यात्रीहरूले सास्ती खेप्नुपरेको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, पहिरो जानसाथ आवश्यक हेभी इक्विपमेन्ट र मेशिनहरू परिचालन गरिएको थियो । निरन्तरको प्रयासपछि सडकमा थुप्रिएको पहिरो हटाएर आवागमन पुनः सञ्चालनमा ल्याइएको हो ।

हाल सडक खुलेर सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् । यद्यपि, सो क्षेत्रको भौगोलिक बनावटका कारण बेलाबेला सुख्खा पहिरो खस्ने जोखिम कायमै रहने हुनाले उक्त सडक खण्ड भएर यात्रा गर्ने चालक तथा यात्रीहरूलाई उच्च सावधानी अपनाउन सडक विभाग र स्थानीय प्रशासनले आग्रह गरेको छ ।