काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौं बूढानीलकण्ठ नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया विमला दोङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय रोशन तामाङ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये शक्तिले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै एक लाख ९५ हजार रुपैयाँ, विमलाले अजरबैजान पठाइदिने भन्दै १३ लाख ६० हजार रुपैयाँ तथा रोशनले क्यानडा पठाइदिने भन्दै २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको कार्कीले बताए ।