स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग

  • मिति : जेष्ठ ५, २०८३
429 Shares

काठमाडौँ ।  प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले महिला अधिकार र लैंगिक समानताको विषयमा ठूलो भाषण भए पनि आधारभूत आवश्यकताको विषयमा बेवास्ता भइरहेको भन्दै आपत्ति जनाए।

यादवले आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महिनावारी प्राकृतिक प्रक्रिया भएको उल्लेख गरे। उनले यस्तो अवस्थामा महिलाले सुरक्षित स्यानेटरी प्याड प्रयोग गर्न पाउनु अधिकारको विषय भएको बताए।

यस्तै सरकारले एकातिर लैंगिक समानता र महिला सशक्तिकरणका ठूला कुरा गर्ने तर अर्कोतर्फ स्यानेटरी प्याडजस्तो आधारभूत स्वास्थ्य सामग्रीमा समेत कर लगाउनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे। उनले यसलाई सामाजिक न्यायसँग जोड्दै प्रश्न उठाए।

उनले चुरोट र मदिराजस्ता हानिकारक पदार्थमा कर बढाउनुपर्ने तर आवश्यक स्वास्थ्य सामग्रीमा कर हटाइनुपर्ने सुझाव पनि दिए। साथै, स्यानेटरी प्याडमाथिको कर तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन्।